बोनसका नाममा भ्रम छर्दै विमा कम्पनीहरु
काठमाडौं – नेपाली विमा बजारमा बोनस दरको विषयलाई लिएर बहस हुने गरेको छ । विमा कम्पनीले नविक्ने विमा पोलीसीलाई आधार मानेर विमा समितिलाई सबैभन्दा धेरै बोनस दर कायम गर्नका लागि आग्रह गर्ने गरेका छन् । विमा समितिले पनि त्यसलाई सदर गरेर बोनस दर कायम गरिदिने गरेको छ । नेपाली बजारमा सबैभन्दा धेरै बोनस दर भने ६५ प्रतिहजार मात्र हो । विमा कम्पनीहरुले धेरै समयको विमा अवधि भएको र नविक्ने विमा योजनामा सर्बाधिक बोनस दर कायम गरि विज्ञापन गर्ने गरेका छन् ।
अहिले नेशनल लाइफ इन्सुरेन्सले पनि आफ्नो बोनसदर पनि ८२ प्रतिहजार पुगेको भन्दै हल्ला पिटिरहेको छ भने गुराँस लाइफ इन्सुरेन्सले त झन ८७ प्रतिशन बोनस दर भनेर जनतालाई उल्लु बनाइरहेको छ । बढि बोनस दर भन्दै जनतामा भ्रम छरेको बारे विमा कम्पनीमा कार्यरत पदाधिकारीले पनि स्वीकार्ने गरेका छन् ।
के हो बोनस दर ?
बोनस भनेको सामान्य भाषामा भन्नपर्दा विमा गर्ने व्यक्ति वा उसको आफन्तले पाउने प्रतिफल हो । त्यो विमा कम्पनी अनुसार फरक फरक हुन्छ । यसलाई अझै बुझ्नेगरी भन्नपर्दा इन्सुरेन्स कम्पनीले दिने व्याज हो । जस्तै विमा कम्पनीका एजेण्टहरु गाउँघरमा आएर तपाई विमा गर्नुहोस् यति बर्षपछि दोब्बर पाउनुहुन्छ भनेर भन्ने गर्दछन् । त्यो दोब्बर भनेको नै बोनस हो । त्यो विमा अवधि अनुसार दोब्बर हुनपनि सक्छ नहुनपनि सक्छ ।
बोनस दर स्थिर हुँदैन् । कम्पनीले दिने प्रतिफलका आधारमा बोनस दर हरेक बर्ष घटिबढि भइरहन्छ । बोनस दर हेरेर विमा गरियो भने फस्ने खतर पनि हुन्छ । नेपाली विमा बजारमा देखिएको अस्वस्थ प्रतिशपर्धाका कारण विमा कम्पनीहरुले आफ्नो बोनस दरलाई देखाएर जनतामा भ्रम छर्दै व्यापार गरिरहेका छन् । बोनस भनेको कम्पनीको अवस्था कस्तो छ ? भनेर दिने जानकारीको रुपमा पनि बुझ्ने गरिन्छ ।
विमा कम्पनीको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मुल्याङ्कन पछि विमा समितिले विमाको बोनस दर हरेक बर्ष तोकिदिने गर्दछ । त्यो बोनस दर अर्को बोनस दर कायम नहुँदा सम्मका लागि लागु हुने गर्दछ । बोनस दर विमाको पोलीसी जहिले जारी भएको भएता पनि यो बर्ष कति बोनस छ त्यहि अनुसारको प्रतिफल विमितले पाउने गर्दछन् । जस्तै एक जना व्यक्तिले २०७० सालमा विमा गरेको थियो र त्यो समयमा एउटा कुनै कम्पनीको बोनस दर ६५ प्रतिहजार थियो । तर कम्पनीको आर्थिक स्थिति खस्कियो र २०७५ सालमा उसको बोनस दर ६० रुपैयाँ कायम भयो भने उसले ६० रुपैयाँका दरले प्रतिफल पाउँछ ।
कसरी भयो बदमासी ?
जुन योजनाका लागि भनेर बजारमा हल्ला गरिरहेका छ त्यो योजनामा सहभागि नहुनु भनेको असफल हुनु हो । अथवा त्यो योजना मन नपराउनु हो । नेपाली विमा बजारमा ठिक उल्टो भइरहेको छ । जुन योजनालाई हाइलाइट गरेर प्रचार प्रशार गरिन्छ त्यो योजनामा कोही पनि सहभागि हुँदैन तर फेरी पनि त्यहि गरिन्छ ।
नेपालमा विमाको बारेमा अझैंपनि ७० प्रतिशन जनतालाई जानकारी नभएको एउटा तथ्याङ्क छ । जानकारी भएपनि विमा नगर्नेहरुको भिड पनि उस्तै छ । नेपालको विमा बजार अहिले २० प्रतिशन जनताको पहुँचमा पुगेको छ । एक इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले त नेपाल विमा बजार पुरै खाली भएको भन्दै आइरहेका छन् ।
त्यहि खाली बजारलाई प्रभावित पार्नका लागि विभिन्न विमा कम्पनीहरुले विभिन्न खालका प्रपोकाण्डा गर्ने गरेका छन् । बोनस दरलाई लिएर गर्ने फण्डा पनि एक हो । नेपाली जनताले पहिला त विमा गर्दै गर्दैनन् । गरेपनि १५ बर्ष भन्दा माथिको विमा विरलैले गर्छन् । हरेक कम्पनीको १५ बर्ष अवधिका लागि कायम भएको बोनस दर ६५ प्रतिशत भन्दा तल छ ।
नेशनल लाइफ इन्सुरेन्स कम्पनीको हालत पनि उस्तै छ । त्यहाँपनि १५ बर्ष भन्दा बढि समयाबधिको विमा पोलीसी जारी भएको एकदमै न्युन छ । नेशनल लाइफको पोलीसी जारी भएदेखि २५ बर्ष समयाबधिको लागि ६३ प्रतिहजार बोनस कायम भएको छ । कम्पनीको मार्केटिङ विभागमा काम गर्ने सुनिता सिल्पकारका अनुसार नयाँ बोनस दर ६३ र ८२ कायम गरिएको बताइन् ।
यता गुराँस लाइफ इन्सुरेन्स कम्पनीको हालत खराव छ । उसले विमा समितिलाई कन्भिन्स गर्न नसक्दा न्यूनतम बोनस दर ४७ रुपैयाँ कायम भएको छ । तर उसले आफ्नो ब्राण्ड भ्यालु बढाउन ८७ प्रतिशनसहित विमा बजारमा सबैभन्दा धेरै बोनस भएको विमा कम्पनी भन्दा हल्ला पिटिरहेको छ । उसको ४७, ५१, ५२, ५६, ५७, ६१, ६२, ८६ र ८७ बोनदर कायम भएको छ । हेर्नुहोस उसको बोनस दरको हालत ।
