
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् ।
संघीय संसद्का दुवै सदनको बैठक शुक्रवार अपराह्न ४ बजे बस्दैछ । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो पटक संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।
सरकारको नीति तथा कार्यक्रमको आधारमा सरकारले जेठ १५ गते संसद्मा आगामी आर्थिक वर्षको बजेट ल्याँउँदैछ ।
के छ निति तथा कार्यक्रममा
अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कंडेल र प्रधानमन्त्रीका सहयोगीहरूले नीति तथा कार्यक्रमको ड्राफ्ट गरिरहेका छन् । ड्राफ्ट तयार गरेर अर्थमन्त्री खतिवडा विश्व बैंकको कार्यक्रममा सहभागी हुन फिजी गएका छन् ।
प्रधानमन्त्री ओली निकटस्थ नेताका अनुसार ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सफल तुल्याउने गरी सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ । यसअघि नेकपा सचिवालय बैठकले परिवर्तनको प्रत्याभूति हुने गरी नीति तथा कार्यक्रम ल्याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएको थियो ।
मंगलवार संसदीय दलको बैठकमा ओलीले सरकारको नीति तथा कार्यक्रममा केही नयाँ कुरा आउने संकेत गरेका थिए । गत वर्षको नीति तथा कार्यक्रम र बजेटप्रति नेकपाभित्र नै असन्तुष्टि बढेको थियो ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै पूरक बजेट ल्याउनुपर्ने बताएका थिए । चुनावको समयमा नेकपाले जनतासामु लगेको घोषणा पत्रलाई आधार बनाएर नीति तथा कार्यक्रम आउने नेकपा नेताहरू बताउँछन् ।
सामाजिक सुरक्षाका कार्यक्रमलाई केन्द्रमा राखेर सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रधानमन्त्रीको ‘कोर टीम’ले तयार गरिरहेको नीति तथा कार्यक्रमबारे नेताहरू भने अनभिज्ञ छन् ।
‘हिजो संसदीय दलको बैठकमा प्रधानमन्त्रीज्यूले वृद्ध भत्ता बढ्छ भन्ने संकेत गर्नुभएको थियो, त्यो बाहेक नीति तथा कार्यक्रमबारे सांसदहरूसँग छलफल नै भएन,’ एक सांसदले भने ।
संसद्मा सरकारको नीति तथा कार्यक्रमपछि २१ गते बस्ने संसदीय दलको बैठकमा छलफल हुने ती सांसदले बताए । मंगलवारको बैठकमा ओलीले आफू व्यस्त रहेको भन्दै सुझावहरू उपनेता र सचेतक मार्फत् उपलब्ध गराउन आग्रह गरेका थिए
२०७६ बैशाख १८ गते प्रकाशित
