News Portal

धोनी कप्तानीको चेन्नईलाई हराउँदै मुम्बई आइपिएल क्रिकेटको फाइनलमा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३७८ पटक
काठमाडौं

बैशाख २५ काठमाडौं – महेन्द्र सिंह धोनी कप्तानीको चेन्नई सुपर किंग्सलाई हराउँदै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा स्थान पक्का गरेको छ ।

मंगलबार राति भएको पहिलो क्वालिफायरमा रोहित शर्मा कप्तानीको मुम्बईले धोनीको चेन्नईलाई ६ विकेटले हराएर फाइनल यात्रा तय गरेको हो । घरेलु टोली चेन्नईले प्रस्तुत गरेको १३२ रनको लक्ष्य मुम्बईले १८ ओभर तीन बलमा चार विकेटको क्षतिमा भेट्टाएको हो ।

मुम्बईका लागि सूर्यकुमार यादवले ५४ बलमा १० चौकाको सहयोगमा नटआउट ७१ रन बनाए । कप्तान शर्मा चार तथा क्वीन्टन डी कक ८ रन बनाएर आउट भएको अवस्थामा यादवले पारी सम्हालेका हुन् । यस्तै इशान किशनले २८ तथा हार्दिक पाण्डेयले नटआउट १३ रनको योगदान दिए । चेन्नईका इमरान ताहिरले दुई विकेट लिए ।

पहिले ब्याटिङ्ग गरेको चेन्नईले चार विकेटको क्षतिमा १३१ रन बनाएको थियो । उसका लागि अम्बाती रायडूले ३७ बलमा नटआउट ४२, कप्तान धोनीले २९ बलमा नटआउट ३७, तथा मुरली विजयीले २६ रन बनाएका थिए ।

पराजित भएको चेन्नईका लागि फाइनल यात्रा तय गर्ने सम्भावना अझै छ । उसले बुधबार हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । बुधबार एलिमिनेटरमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबिच प्रतिस्पर्धा हुँदैछ ।

२०७६ बैशाख २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्