News Portal

बुहारीको काम प्रति प्रचण्ड असन्तुष्ट, के लेलान त एक्सन ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६७० पटक
काठमाडौं

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी बिना मगरले आफैंले तोकेको समयमा काठमाडौंमा पानी ल्याउन नसकेको भनेर सर्वत्र आलोचना हुने गरेको छ ।

खानेपानी मन्त्री रहेकी बिना मगर मेलम्चीको पानी ल्याउन असफल भइसकेकी छन् भने आगामी योजना समेत अलपत्र छ ।

मेलम्चीको पानी ल्याउन बुहारी असफल भएपछि अब प्रचण्ड नै तम्सिएर हस्तक्षेप गर्ने घोषणा गरेका छन् । उनले मेलम्ची आउन नदिने खेलमा नेपालीहरू नै रहेको आरोप समेत लगाए । ‘सुन्दरीजलको पूर्वाधार अन्तिम चरणमा छ,’ उनले भने ‘तर अझै एक–दुई वर्ष लाग्छ किन भन्छन्, मेलम्ची हाम्रै मान्छेहरूले (नेपाली) रोकेका हुन् ।’

प्रचण्डले नेतृत्वबाटै हस्तक्षेप गरेर भएपनि मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको कार्यक्रममा शुक्रबार प्रचण्डले आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेर भएपनि मेलम्ची ल्याउने बताएका हुन् ।

मेलम्ची ल्याउन नदिने खेलमा नेपालीहरू नै लागेका भन्दै उनले अब कडा कदम चालेर भएपनि मेलम्ची ल्याउने बताएका हुन् । ‘म आफैं पनि र प्रधानमन्त्री पनि नेतृत्वले हस्तक्षेप गरेर पनि मेलम्ची ल्याउनुपर्छ भन्नेमा दृढ छौं,’ उनले भने ।

आफू प्रधानमन्त्री भएका बेला मेलम्ची आयोजनाको स्थलगत अनुगमनका जाँदा केही मानिसहरूले मेलम्ची आउन अझै एक–दुई वर्ष लाग्छ भनेको स्मरण गर्दै उनले विभिन्न गतिविधि गर्ने मानिसहरूको समूहले अझै आउन दिन्नौं भनेको सुनेको बताए ।

‘विभिन्न गतिविधि गर्ने केही मानिसको समूहले, अझै आउन दिन्नौं भनेका छन्,’ प्रचण्डले भने, ‘प्रधानमन्त्री र मन्त्रीको तत्परतामा शंका छैन । तर विगतका अनुभव हेर्दा बलियो हात नचलाई, सरकारले स्ट्रोङ कदम नचलाई मेलम्चीको पानी आउन गाह्रो छ ।’

प्रचण्डले मेलम्चीलाई लामो समयदेखि लागेको रोग भनी ब्याख्या गरे । ‘यो छिट्टै सन्चो नहुने खालको रोग हो । उपचार चाहिँ छ तर अलि लामो समय लाग्ने खालको रोग छ,’ प्रचण्डले भने ‘जरुरी पर्यो भने अपरेसन गर्न पनि ढिला नगर्ने तर मेलम्ची ल्याउनुपर्छ ।’

प्रचण्डले नै तात्नुपर्ने अवस्था आएका कारण खानेपानी मन्त्री बिना मगर असफल देखिएको विश्लेषण हुन थालेको छ । प्रचण्डले पनि मन्त्री बिना मगरजस्तै भाषण मात्रै गरेका हुन् कि साँच्चै पानी ल्याउँछन् त्यो भने हेर्न बाँकी नै छ ।

२०७६ बैशाख २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्