News Portal

बास्केटबलमा पनि अब्बल स्कुल, बीएनए कपको उपाधि ग्रिनल्याण्डलाई

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२८८ पटक
काठमाडौं

काठमाडौं – बसुन्धारा नेसनल एकेडेमी (बीएनए)ले आयोजना गरेको चौथो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ग्रिनल्याण्ड एकेडेमीले सिनियर ब्वाइज तर्फको उपाधि हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा गोल्डेनपिकलाई २१–१४ ले हराउँदै गिन्ल्याण्ड च्याम्पियन बनेको हो । ग्रिनल्यान्डका राजीव आलेले ९ स्कोर गरे ।

त्यस्तै, बीएनए जुनियरको उपाधि आयोजक बसुन्धारा इन्टरनेशनल एकेडेमीले कब्जा गरेको छ । बसुन्धारास्थित घरेलु कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा बीएनएले लालीगुराँस नेसनल एकेडेमीलाई २५–२० ले पराजित गर्यो । बीएनएका सन्देशजंग खड्काले २० अंक जोडे ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सन्देश र राजीव आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जुनियर ब्वाइजमा इबिएका सुनील मल्ल (५० अंक) तथा सिनियर ब्वाइजमा ग्रिनल्यान्डका पेम्बा तामाङग (२५ अंक) प्रतियोगिताकै सर्वाधिक स्कोर कर्ता बने । जुनियर ब्वाइजमा अक्षर तथा सिनियर ब्वाइजमा अमृत बोर्डिङ स्कुल ‘इमर्जिङ टिम’ चुनिए ।

जुनियर ब्वाइजमा मनासलु तथा सिनियर ब्वाइजमा सिद्धार्थ मोडेल स्कुलले अनुशासित टिमको उपाधि हात पारे । जुनियर ब्वाइजमा लालीगुराँसका रोशन घले ‘इमर्जिङ प्लेयर’ ठहरिए ।

विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका कार्यापालिका सदस्य कल्पना घिमिरे, प्याब्सन प्रदेश ३ का अध्यक्ष थकिनकुमार गुरुङ, काठमाडौं प्याब्सनका उपाध्यक्ष प्रेम राई, बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बैशाख २६ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १६ तथा जुनियर ब्वाइजमा २४ टिम सहभागी थिए ।

२०७६ जेठ ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्