
काठमाडौं – काठमाडौंमा भारतीयहरुले अबैध नेटवर्क मार्केटिङ गर्ने गरेको खुलेको छ । प्रहरीले अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा ८ जना भारतीय नागरिकलाई पक्राउ गरेपछि यो रहस्य बाहिर आएको हो ।
प्रहरीले भारतीय नागरिक महोमद जिया, नितिन श्रीबास्तव, रबि तिवारी, अटल त्रिपाठी, महोमद सेयाफ, नुरुलएन वारसी, तेजनारायण शुक्ला र राजेश कुमार शुक्लालाई नेटवर्क माकेटिङ गरिरहेको समयमा पक्राउ गरेको हो ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार विशेष सुराकीका आधारमा उनीहरुलाई आइतबार दिउँसो पक्राउ गरिएको हो । उनीहरुको साथबाट ४२ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
राठौरका अनुसार पक्राउ परेका व्यक्तिहरुले साइन ग्रुपरियल स्टेट, ईकमर्स र टुरिज्मको नामबाट गैरकानुनी नेटवर्किङ व्यवसाय गरेका थिए ।
उनीहरुले कम्पनीमा २५ सय, ५ हजार र १० हजार डलर जम्मा गरे त्यहीँ बराबरको रकम कम्पनीबाट ६ प्रतिशतसम्म थप गरेर अर्धवार्षिक रुपमा दिने प्रलोभन दिने गरेको जनाइएको छ । उनीहरुले आर्थिक प्रलोभनमा पारेर कम्पनीको सदस्य समेत बनाइदिने बताएका थिए ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि २८ वैशाखमा काठमाडौं प्रहरी परिसर, टेकुले पनि अवैध नेटवर्किङ व्यवसायमा संलग्न १२ जनालाई पक्राउ गरेको थियो ।
दुवै समूहबीच संलग्न रहेको प्रहरीको दाबी छ । थप अनुसन्धान भइरहेको छ ।
२०७६ जेठ ६ गते प्रकाशित
