
काठमाडौं – दुई परिवारका ९ जनाको विभत्स हत्या गर्ने ब्यक्ति परिवारकै सदस्य भएको प्रहरीको प्ररम्भिक अनुसन्धानले लगाएको छ । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा भएको सामूहिक हत्या घटनामा फियाक परिवारका ज्वाइँको संलग्नता रहेको हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रहरी अधिकारीका अनुसार संदिग्ध व्यक्तिको रुपमा देखाएका मानबहादुर माखिमको शव मिक्लाजुङ–८, लुमाङ्दिनमा झुण्डिएको अवस्थामा भेटिएको छ । अनुसन्धान टोली स्रोतका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएका माखिम मृतक अनुसार माखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । ‘श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन्’, स्रोतले भन्यो ।
घटनामा बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया पनि माखिमकै थियो ।
जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले पनि घटनामा एक जनाको मात्रै संलग्नता हुनसक्ने देखिएको बताए । उनले भने, ‘हामी अहिले शव भेटिएको स्थलतिर जाँदैछौं तर, शव भेटिनुअघि नै उनी संदिग्ध रुपमा हाम्रो दायरामा आएका व्यक्ति हुन् ।’
गएराति भएको घटनामा दुई घरका गरी ९ जनाको हत्या भएको थियो । हत्या हुनेमा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।
त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको थियो ।
घटनाको अनुसन्धानका लागि हाल काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० का एसपी उमाप्रसाद चर्तुवेदी नेतृत्वको टोली पनि त्यसतर्फ गइसकेको छ ।
प्रदेश प्रहरी कार्यालयले पनि एसएसपीको नेतृत्वमा टोली खटाएको छ ।
२०७६ जेठ ७ गते प्रकाशित
