News Portal

प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो भिडन्त ? कति भयो क्षति ?

मोटिभेटन्यूज संवाददाता
३०४७ पटक

भोजपुर – भोजपुरमा प्रहरीले नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको छ । भोजपुरको ट्याम्के मैयुम गाँउपालिका वडा नं.१ स्थित मैयुमडाँडा मुनिको धोद्रे जंगलमा प्रहरीले गोली प्रहार गरी एक जना विप्लवका कार्यक्रतालाई पक्राउ गरेको छ ।

मंगलबार १०–१५ जना हतियारधारी समूहको टोली रहेको सूचना पाएपछि पुगेको प्रहरीलाई जंगलमा समूहभन्दा पछाडि रहेका एक व्यक्तिले कम्मरमा भिरेको पेस्तोल फायरिङ गरेपछि प्रहरीले जवाफी गोली चलाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्ता प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए ।

सो ठाउँ छिनामखु र खोटाङ्गको केपलासगढी गाउँपालिकाको सिमा क्षेत्रमा पर्दछ ।

उनका अनुसार घाइतेको तिघ्रामा गोली लागेको छ । घाइते भोजपुर षडानन्द नगरपालिका २ का ३२ वर्षका तीर्थराज घिमिरे रहेको प्रहरीले बताएको छ ।

सुरक्षा स्रोतका अनुसार घिमिरेको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि एम्बुलेन्सबाट भोजपुर अस्पताल ल्याइदैछ । उनको साथबाट एक थान कटुवा पेस्तोल, पेस्तोलको गोली पाँच थान, लामो बाइनाकुलर थान १, डेटोनेटर थान ४, डेटोनेटर कर्ड अन्दाजी २० मिटर, बारुद र नेपाल कम्युनिष्ट पार्टीद्वारा जारी गरिएको विज्ञप्ति, पर्चा, पम्प्लेट समेत बरामद भएको प्रहरीले जनाएको छ ।

सदरमुकाबाट करिब ७० किलोमिटर टाढाको दुरीमा रहेको जंगलमा रहेका विप्लव समूहका कार्यकर्ताले गाउँबस्तीमा त्रास सिर्जना गरेको गुनासो आएपछि प्रदेश १ प्रहरी टोलीको सहयोगमा जिल्ला प्रहरी कार्यालय भोजपुरले गस्ती गरेको थियो ।

गस्ती गर्ने क्रममा जम्काभेट भएपछि गोली प्रहार भएको हो । जंगलमा रहेका विप्लव समूहका अन्य कार्यकर्ता खोटाङतर्फ भागेको प्रहरीले जनाएको छ ।

२०७६ जेठ ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्