News Portal

सिक्किममा पवनको २५ बर्षे शासन अन्त्य, को हुन चाम्लिङको सत्ता पल्टाउने प्रेमसिंह तामाङ ?

मोटिभेटन्यूज संवाददाता
४३९१ पटक

काठमाडौं – सिक्किममा २५ वर्षेसम्म शासन गरेका पवन चाम्लिङ सत्ताच्युत भएका छन । १७ औं विधानसभा चुनावमा पवनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले नमिठो हार ब्यहोरेको छ ।

सिक्किममा विधानसभाका ३२ सिटमध्ये प्रेमसिंह तामाङ (गोले) को क्रान्तिकारी मोर्चाले १७ सिटमा जित हासिल गरेको छ भने चाम्लिङ नेतृत्वको डेमोक्रेटिक फ्रन्टले १५ सिटमा विजयी भएको छ । यसअघि सन् २०१४ को चुनावमा चाम्लिङको पार्टीले २२ सिट जितेको थियो ।

सिक्किमको एकमात्र लोकसभा सिटमा पनि सिक्किम क्रान्तिकारी मोर्चा नै विजयी भएको छ । यससँगै सिक्किम क्रान्तिकारी मोर्चाले राज्य विधानसभा र लोकसभा दुवैमा आफ्नो पकड जमाएको छ ।

को हुन् प्रेमसिंह ?

अब गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले नयाँ सरकार बनाउने छ । गोले विगतमा पवन चाम्लिङकै पार्टीमा थिए । तर, उनले त्यहाँबाट अलग भएर नयाँ पार्टी ‘सिक्किम क्रान्तिकारी मोर्चा’ (एसकेएम) गठन गरेका थिए ।

भ्रष्टाचारको मुद्दामा केही महिना जेल सजायँसमेत भोगेका गोले आफू चुनावमा प्रतिष्पर्धा नगरे पनि उनको पार्टीले विधानसभाका ३२ वटै सिटमा उम्मेद्वार खडा गरेको थियो ।

सन् १९९० मा प्रेमसिंहले ग्राजुएट शिक्षकको रुपमा सरकारी जागिर खाए । तर तीन वर्षमै शिक्षक पदबाट राजीनामा दिए । त्यसपछि उनी सामाजिक र राजनीतिमा अझ सक्रिय भएर लागेका थिए ।

पवन कुमार चाम्लिङ सिक्किम डेमोक्रेटिक फ्रन्टको संस्थापक अध्यक्ष हुन् । उनी सन् १९९४ देखि लगातार २५ वर्ष सिक्किमको मुख्यमन्त्री बनेका छन् । पहिला छुट्टै देश सिक्किम भारतमा विलय भएपछि सबैभन्दा लामो समय राज्यमा शासन गर्ने पवनकुमार चामलिङ नै हुन् ।

उनी सिक्किमको तेस्रो मुख्यमन्त्री हुन् । उनीअघि काजी लेन्डुप दोर्जी र नरबहादुर भण्डारी सिक्किमका मुख्यमन्त्री थिए । भण्डारीको शासनकालमा चामलिङ भण्डारीका विश्वासपात्र थिए । तर, पछि चामलिङले पार्टी फुटाएर सिक्किम डेमोक्रेटिक फ्रन्ट नामको पार्टी स्थापना गरेका हुन् ।

सिक्किममा सुरुदेखि नै क्षेत्रीय दलको दबदवा छ । चाखलाग्दो कुरा के छ भने सन् १९७९ देखि अझैसम्म सिक्किमको सत्तामा राष्ट्रिय दल भाजपा पुग्न पाएको छैन । सन् १९८४ मा कांग्रेस केबल १३ दिन सत्तामा थियो । त्यसपछि कांग्रेस फेरि सत्तामा फर्किन सकेन । भाजपा सिक्किम संग्राम परिषदसँग मिलेर चुनाव लड्दै आएको छ ।

भारतको पूर्वोत्तर राज्य हो सिक्किम । यहाँ लोकसभामा एक मात्र सिट छ । यो सिट किन महत्वपूर्ण छ भने यसले पूरै राज्यको प्रतिनिधित्व गर्दछ । यहाँ राज्यसभाका लागि पनि एक सिट छ । विधानसभा भने ३२ सिट छ ।

यहाँ भाजपा, कांग्रेस, तृणमुल कांग्रेस जस्ता राष्ट्रिय दल पनि छन् । तर, सधैं क्षेत्रीय दलकै बोलवाला छ । सिक्किममा कुल मतदाता ३ लाख ७० हजार ७३१ छ । जसमा १ लाख ७९ हजार ६५० महिला छन् । जनसंख्याको घनत्व ७६ व्यक्ति प्रति वर्ग किलोमिटर छ जुन भारतमा निकै कम हो ।

सिक्किम पर्वतीय क्षेत्र हो । यो राज्य पश्चिममा नेपाल, उत्तर तथा पूर्वमा चीनको तिब्बत तथा दक्षिण पूर्वमा भुटानसँग जोडिएको छ । भारतको पश्चिम बंगाल सिक्मिकको दक्षिण पर्दछ । यहाँ अंग्रेजी, गोर्खा खस भाषा, लेप्चा, भुटिया, लिम्बु र हिन्दी आधाकारिक भाषा छन् । हिन्दु तथा बज्रयान बौद्ध सिक्किमका प्रमुख धर्म हुन् ।

सिक्किम प्रदेशको राजधानी गान्तोक हो । यो यहाँको सबैभन्दा ठूलो शहर पनि हो । सिक्किम पहिले नामग्याल राजतन्त्रको एक स्वतन्त्र राज्य थियो, तर जनमत संग्रह गरेर सन् १९७५ मा भारतमा विलय गराइयो । पूर्व सिक्किम, पश्चिम सिक्किम, उत्तर सिक्किम र दक्षिण सिक्किम गरी यहाँ चारवटा जिल्ला छन् ।

सिक्किम भौगोलिक दृष्टिले धेरै विविधतापूर्ण छ । प्राकृतिक सुन्दरताले पनि धनी छ । त्यसैले यो पर्यटनको प्रमुख केन्द्र बनेको छ ।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा सिक्मिको उत्तरपश्चिम भागमा नेपालको सीमासँग जोडिएको छ । चीनको सीमासँग जोडिएका कारण यहाँ भारतीय सेनाको बाहुल्य छ । धेरै क्षेत्रमा प्रवेश निषेध छ । घुम्न जाँदा कतिपय ठाउँमा अनुमति लिनुपर्ने हुन्छ ।

२०७६ जेठ १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्