News Portal

बहस : भारतमा मोदीको पुनरागमन, नेपालका राजतन्त्र फर्किने संकेत ?

१५७५ पटक

काठमाडौं – भारतीय लोक सभा निर्वाचनमा नरेन्द्र दामोदर मोदीको पार्टी भाजापाले एकल बहुमत ल्याएपछि मोदीलाई दोश्रो पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । भारतमा मोदीको जीतसँगै नेपालको राजनीतिका विषयमा बहस उठ्न थालेका छन ।

भारतीय जनता पार्टीको जीतलाई लिएर नेपालमा मुख्यतः दुईवटा प्रश्नहरु उठेका र उठाइएका छन्ः  एक – भारतमा मोदीको पुनरागमनले नेपालको भावी राजनीतिमा कस्तो असर पार्ला ?

दुई – भारतीय चुनावको परिणाम नेपालका प्रमुख राजनीतिक राजनीतिक दलहरुले के कस्तो पाठ सिक्न सक्छन् ?

आ-आफ्नै दाबी

भारतमा बीजेपीको जीत र मोदीको पुनरागमनलाई लिएर नेपालमा विभिन्न प्रकारका तर्कनाहरु प्रारम्भ भएका छन् । विभिन्न राजनीतिक विचारधाराका व्यक्तिहरुले आ-आफ्नै किसिमका दाबीहरु प्रस्तुत गर्न थालेका छन् ।

केही दाबीहरु यस्ता छन्ः

– मोदीको जीतसँगै अब नेपाल र भारतवीचको सम्बन्ध प्रगाढ बन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी छ । कतिपय विश्लेषकहरु पनि मोदीको जीतले नेपाल-भारत सम्बन्ध राम्रो हुने विश्लेषण गर्छन् ।

– खासगरी नेपालमा हिन्दू राष्ट्र र राजतन्त्रको पुनस्र्थापना हुनुपर्छ भन्नेहरु चाहिँ भारतमा मोदीको जीतले नेपालका कांग्रेस र कम्युनिष्टहरु अत्तालिएको दाबी गर्छन् । उनीहरु अब भारतले १२ बूँदे समझदारीको कोर्ष करेक्सन हुन सक्ने दाबीसमेत गर्छन् ।

– भारतमा कांग्रेस आईको दुखद पराजय र दक्षिणपन्थी दलको बढोत्तरीले अब नेपालमा पनि विपक्षी नेपाली कांग्रेसको पुनरुत्थान सहज छैन भन्ने संकेत दिएको दाबी सत्तारुढ दलका नेता कार्यकर्ताहरुले गर्न थालेका छन् । र, भारतमा जस्तै नेपालमा पनि राष्ट्रवादी र संघीयताविरोधी फोर्सको भविश्य राम्रो रहेको अर्थमा छिमेकीको चुनावलाई व्याख्या गर्न थालिएको छ ।

– भारतमा नयाँ शक्तिका रुपमा लिने गरिएको केजरीवालको आम आदमी पार्टीको अवस्था दयनीय देखिएकाले नेपालमा पनि दक्षिणपन्थी शक्तिका सामु नयाँ शक्तिहरुको उदय कठीन रहेको अर्थमा पनि भारतको चुनावलाई हेर्न थालिएको छ । दिल्लीको केजरीवालको जस्तै हालत नेपालको साझा विवेकशील र संघीय माजवादीको पनि हुने त हैन ? यस्ता प्रश्नहरु पनि उठ्न थालेका छन् काठमाडौंमा ।

हाल अमेरिका भ्रमणमा रहेका बरिष्ठ पत्रकार तीर्थ कोइराला लेख्छन्- ‘अमेरिकामा निर्वाचन हुँदा ट्रम्प हार्छन्, भारतमा मोदी हार्छन् भनेर नेपालमा हावादारी विश्लेषण गर्ने र चिया पसलमा उफ्रिएर र नेपालको चुनावमा विदेश बस्नेले यो र त्योभन्दा नहुने रहेछ कि जस्तो लाग्यो । चुनावमा बाहिरी प्रशंसा र श्राप भन्दा उसको काम र मतदातामाथिको प्रभाव नै प्रमुख ठहर भो ।’

नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्दै आएका अर्का पत्रकार देवप्रकाश त्रिपाठीको चाहिँ तर्क यस्तो छ- ‘नेपाली कांग्रेस र नेकपाको नेतृत्व, जसलाई भारतीय जनता पार्टी र नरेन्द्र मोदीको सरकार ‘खहरेझैँ उर्लिएको एक चरणको भेल’ मात्रै भएको विश्वास थियो, मोदीको पुनरागमन उनीहरूको छटपटीको विषय बनेको छ ।’

त्रिपाठी अगाडि लेख्छन्- ‘आगामी दिनमा नेपालको आन्तरिक राजनीतिक अवस्था यथावत् रहने देखिँदैन । कुनै न कुनै प्रकारले यहाँको आन्तरिक राजनीतिमा परिवर्तन आउन सम्भव छ । तर, अबको परिवर्तन कम्युनिस्ट र कांग्रेसको नेतृत्वलाई ठीक ठाउँमा ल्याउने हदसम्म मात्रै सीमित हुने हो या राजनीतिक संरचनाकै आधारभूत बदलावसम्म पुगेर टुङ्गनिे हो, त्यसको अनुमानमात्र गर्न सकिन्छ । वर्ष दिनभित्रै नेपालमा ठूलो परिवर्तन हुनेमा चाहिँ अब शंका गरिरहनुनपर्ने भएको छ ।’

केही समय पहिले फरक सन्दर्भमा राप्रपा अध्यक्ष कमल थापाले पनि भारतको चुनावपछि नेपालको राजनीतिमा उथल-पुथल आउन सक्ने दाबी गरेका थिए । बीजेपीले एकल बहुमत पाएर मोदी दोस्रोपटक प्रधानमन्त्री बनेमा ‘१२ बुँदे समझदारीको कोर्ष करेक्सन हुन सक्ने कमल थापाले आशा गरेका हुन सक्छन् ।’

तर, हिन्दुवादी र राजावादीहरुले बीजेपीको जीतबाट उत्साह प्रकट गरिरहेका बेला सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली पनि कमल थापा र देवप्रकाश त्रिपाठीहरुभन्दा कम उत्साहित देखिएका छैनन् ।

२०७६ जेठ १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्