News Portal

के हो बिमस्टेक ? किन आयोजना गरिन्छ ? जानिराखौं

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४६२ पटक
काठमाडौं

भदौ १३, काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेक यो क्षेत्रका राष्ट्रबिच आपसी सहयोग र सम्बन्ध बिस्तारका लागि स्थापित संगठन हो ।

यसमा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड गरी सात सदस्य रहेका छन् । बिमस्टेकको स्थापना सन् १९९७ को जुन ६ मा भएको हो । यसको प्रधान कार्यालय बंगलादेशको राजधानी ढाकामा छ ।

यो दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाका सात देशको उप–क्षेत्रीय समूह हो, जुनदेशहरु बंगालको खाडीको तटीय तथा आसन्न क्षेत्रमा रहेका छन् ।

यो समूहले दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियामा बसोबास गर्ने झण्डै साढे एक अर्ब मानिसको प्रतिनिधिमुलक संस्था हो । यसले दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका देशबिच सम्बन्ध स्थापनाका लागि पुलको रुपमा काम गर्दै आएको छ ।

म्यानमार र थाइल्याण्ड यो समूहमा रहेका दक्षिण पूर्वी एसियाली देश हुन्, नेपालसहित बाँकी देश दक्षिण एसियाली हुन् । सार्कमा रहेका तर बिमस्टेकमा नरहेका देश पाकिस्तान र अफगानिस्तान हुन्।

बिमस्टेकले मुख्य गरी १४ क्षेत्रमा आपसी सहयोग गर्ने उद्देश्य लिएको छ । यसमा प्रविधि, अपराध न्युनिकरण, कृषि, पर्यावरण, आतंकवाद नियन्त्रण तथा गरिबी नियन्त्रणसहितका क्षेत्र प्रमुख रहेका छन् ।

सदस्य राष्ट्रबिचमा प्राविधिक एवम् आर्थिक सहायता आदानप्रदान गर्ने उद्देश्यले स्थापित बिमस्टेकले व्यापार, उर्जा, पर्यटन, परिवहन र माछा उद्योगसँग सम्बन्धीत सहयोग आदानप्रदान पनि गर्दै आएको छ ।

गएको चार वर्षदेखि बिमस्टेकको अध्यक्षता नेपालले गर्दै आएको छ । नेपालले बिमस्टेकमा गरिबी निवारण सम्बन्धी विषय हेर्दै आएको छ ।

अध्यक्ष देशले सम्मेलन आयोजना गर्ने नियम अनुसार यसपटकको चौथो बिमस्टेक सम्मेलन नेपालमा हुँदैछ । बिमस्टेकको पहिलो सम्मेलन थाइल्यान्डमा सन् २००४ मा भएको थियो । दोस्रो भारतमा सन् २००८ मा तथा तेस्रो शिखर सम्मेलन सन् २०१४ मा म्यानमारमा भएको थियो ।

२०७५ भदौ १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्