News Portal

भोलि ३ देशका प्रधानमन्त्री नेपाल आउदै, विमानस्थल बन्द हुने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३८४ पटक
काठमाडौं

भदौ १३, काठमाडौँ – चौथो बिम्स्टेक सम्मेलनमा सहभागी हुन बिहीबार तीन देशका प्रधानमन्त्री काठमाडौं आउँदै छन्। करिब दुई घन्टाको अन्तरालमा भारत, बंगलादेश र थाइल्यान्डका प्रधानमन्त्री आउने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब साढे दुई घन्टाका लागि बन्द गरिने भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहिबार साढे ८ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ। मोदी चार्टर फ्लाइटमार्फत आउन लागेको हुन्। मोदीको आगमन हुने समय भन्दा १५ मिनेट अगावै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान तथा अवतरण बन्द हुने भएको छ।

बिहान ८ बजेर १५ मिनेटदेखि सबै उडान बन्द गरिने विमानस्थल कार्यालयका एयर ट्राफिक कन्ट्रोल (एटिसी) रुमका प्रमुख सीताराम भण्डारीले जानकारी दिए।  यसैगरी ९ बजेर १५ मिनेटमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना विमान बंगालमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम छ। नियमित उडानमार्फत आउने भएपनि उनको आगमन समय भने केही अगाडि सरेको भण्डारीले जानकारी दिए।

यस्तैगरी थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान वचा बिहान १० बजेर १५ मिनेटमा काठमाडौं आइपुग्ने छन्। वचा चार्टर उडानमार्फत काठमाडौं आउन लागेका हुन्। २ घन्टाको अन्तरालमा तीन देशका प्रधानमन्त्रीको आगमन हुने भएकाले उक्त अवधिमा विमानस्थलमा कुनै पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान नहुने जानकारी एटिसी प्रमुख भण्डारीले दिए।
यो बीचको समयमा आन्तरिक तर्फका करीव ३० उडान तथा अवतरण र अन्तर्राष्ट्रिय तर्फका २४ वटा उडान तथा अवतरण प्रभावित हुने भण्डारीले जानकारी दिए। भारतीय प्रधानमन्त्रीमको आगमन पछि १ घण्टा समय रहे पनि विशिष्ट पाउनाको सुरक्षालाई मध्यनजर राख्दै कुनै पनि उडान सुचारु गर्न नसकिने विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए। एक घन्टाको समयमा रनवेको मर्मतदेखि अन्य व्यवस्थापनको काम गर्नु पर्ने भएकाले उडान गर्न नसकिने उनको भनाइ छ।

बंगलादेशका प्रधानमन्त्रीको आगमनपछि १ घन्टाको सयम खाली भए पनि सुरक्षाका कारण उडान तथा अवतरण खुल्ला गर्न नमिल्ने क्षेत्रीको भनाइ छ।

२०७५ भदौ १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्