News Portal

बम विस्पोटका विषयमा छलफल भइरहेका बेला गृह मन्त्रालयमै कुटपिट, के हुँदैछ देशमा ?

मोटिभेटन्यूज संवाददाता
५०२८ पटक

काठमाडौं – विप्लव नेतृत्वको नपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको पूर्व संध्यामा देशभर बम विस्पोट गराइरहेका बेलामा गृह मन्त्रालयमा पनि अनौठो घटना घटेको छ । राजधानीसहित देशभरि शृंखलाबद्ध बम विस्फोट भइरहेका बेला गृहमन्त्रालयभित्रै कर्मचारी माथि कुटपिट भएको छ ।

सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधामा असहमति राख्दै आइतबार एक समूहले गृह मन्त्रालयभित्रै कर्मचारीमाथि हातपात गरेको बताईएको छ ।

सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधा टुंग्याउन गृह मन्त्रालयका सहसचिव ईन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन भएको थियो । कार्यदलले विभिन्न प्रस्तावमा छलफल गरिरहँदा युवराज विकसहितको ११ जनाको टोलीले कर्मचारी र घाइते, अपाङ्गका प्रतिनिधिमाथि आक्रमण गरेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

द्वन्द्वका घाइते अपाङ्गलाई भत्ता, उपचार खर्चसहितको सुविधाको माग राख्दै केही समय पहिले उनीहरू अनसनमा बसेका थिए । माग सम्बोधन गर्न बनेको कार्यदलको बैठकमा कर्मचारीमाथि हातपात भएको हो ।

द्वन्द्वका घाइतेहरू समेत रहेको कार्यदलले विभिन्न विकल्पमा छलफल गरिरहेका बेला कार्यदलमा सहभागी युवराज विकले कुनै पनि प्रस्तावमा सहमति छैन भन्दै आक्रमण गरेको स्रोतले जनाएको छ । युवराज विकले कार्यदल बाहिरका थप १० जना युवाहरूलाई बोलाएर कर्मचारीहरूलाई हातपात गरेका हुन् ।

घटनालगत्तै हातपातमा संलग्नहरूलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाएको गृह मन्त्रालयले जनाएको छ । विप्लवका कारण गृहमन्त्री रामबहादुर थापासहितका उच्च अधिकारीहरू शान्ति सुरक्षालाई लिएर केन्द्रित भएका बेला गृहमन्त्रालयभित्रै कुटाकुट भएपछि कर्मचारीहरूले आक्रोश व्यक्त गरेका छन् ।

२०७६ जेठ १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्