
काठमाडौं – पार्टी एकता भएको एक बर्ष पुगेपछि पार्टी एकता गर्ने बेलामा भएको गोप्य सहमति बाहिरिएपछि सत्तारुढ नेकपामा तरङ आएको छ । सरकार आलो पालो चलाउने विषयमा भएको सहमतिलाई प्रदाफास गर्ने क्रममा यो विषय सार्वजनिक भएको छ ।
एउटा राजनैतिक कितावमा उनीहरुबीचको सहमतिको पत्र नै छापिएपछि राजनीति गर्माएको छ । नेकपाले उत्त सहमतिलाई एकवर्षसम्म गोप्य राखेको थियो । तर, एबीसी टेलिभिजनका संस्थापक अध्यक्ष शुभशंकर कँडेलले लेखेको ऐतिहासिक एकताका आधारहरूमा अत्यन्त गोप्य राखिएको उक्त सहमति छापिएको छ । पाना नम्बर २०१ मा सहमतिको छ बुँदा खुलाइएको छ भने पाना नम्बर २ मा सम्झौताको प्रतिलिपि नै छापिएको छ ।
सहमतिको पहिलो बुँदामा जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीमा जनवाद र माओवादसम्बन्धी राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवाद उन्मुख जनताको जनवादका रूपमा अगाडि बढाउने । आगामी एकता महाधिवेशनमा वैचारिक, राजनीतिक विषय एवम् नेतृत्व निर्माण र सङ्गठन सम्बन्धी विषय अल्पमत र बहुमतका आधारमा नभइ सहमति र सहझदारीका आधारमा टुंगो लगाउने उल्लेख छ ।
दोस्रो बुँदामा पार्टी एकताका संगठनात्मक सिद्धान्त समानता, सम्मानजनक र न्यायोचित हुने उल्लेख छ ।
तेस्रो नम्बर बुँदामा एकता महाधिवेशन नहुँदासम्म पार्टीका सम्पूर्ण निर्णयहरू विधिसम्मत र कमिटीबद्ध छलफलका आधारमा लिने तथा दुवै अध्यक्षको सहमति र हस्ताक्षरपश्चात् निर्णयको आधिकारिकता मानिने उल्लेख छ ।
चौथो बुँदामा समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख छ ।
पाँचौँ बुँदामा महाधिवेशनसम्मका लागि केन्द्रीय समिति २४१ र २२० गरी ४४१ र स्थायी समिति २५ र १८ गरी ४३ जनाको रहने उल्लेख छ ।
तर, पछि चार सदस्य थपेर ४४५ सदस्यीय केन्द्रीय कमिटी र दुई सदस्य थप गरेर ४५ जनाको स्थायी कमिटी बनाइएको थियो । पार्टी अध्यक्षद्वले हस्ताक्षर गरेको गोप्य सम्झौताका साक्षीका रूपमा तत्कालीन एमाले उपमहासचिव विष्णु पौडेलले र माओवादी केन्द्रका कार्यालय सचिव रहेका जनार्दन शर्माले हस्ताक्षर गरेका छन् ।
२०७६ जेठ १६ गते प्रकाशित
