मोटिभेटन्यूज संवाददाता

धरान – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणको समयमा भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको गुनासो गरेका छन् ।
सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सहमति जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउन सक्ने बताए ।
“हामी निरन्तर संवादमा छौं । पाँच वर्ष नै केपी जीले सरकार चलाउन सक्नुहुन्छ”, दाहालले भने, “सरकार सञ्चालन हामी सहमति गरेर पाँच वर्षसम्म चलाउँछौं । मिडियाका पछि नलाग्न म अनुरोध गर्दछु ।”
अध्यक्ष दाहालले पार्टीका विस्तृत कुरा बुझेर मात्रै धारणा बनाउन कार्यकर्तालाई सुझाए । उनले पार्टी एकीकरणका बाँकी रहेका विषयलाई दुई दिनभित्रमा टुङ्गयाउने पनि जानकारी गराए ।
२०७६ जेठ १८ गते प्रकाशित
