News Portal

डोल्पा पुगेर राज्यमन्त्री बुढाले भने – ‘वामदेव जीलाई भोट दिनुहोला , म बिदा माग्न आएको !’

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४१४ पटक
काठमाडौं

भदौ १४, डोल्पा – संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री धनबहादुर बुढा गृहजिल्ला डोल्पामा नेकपा नेता वामदेव गौतमलाई भोट मागेर फर्किएका छन् । राजीनामा दिने या नदिने दोधारमा परेपछि गृहजिल्ला पुगेका उनी मतदाताको राय लिएर काठमाडौं फर्किएका हुन् ।

बर्दियाबाट आफ्नै कमजोरीले नेपाली कांग्रेसका सञ्जय गौतमसँग पराजित बनेका नेता गौतमलाई नेकपाले डोल्पामा उठाउने चर्चा केही महिना देखि चलिरहेको अवस्थामा राज्यमन्त्री बुढा राजीनामा दिने मनस्थिति बनाएर काठमाडौँ फर्किएका हुन् ।

बुढालाई राजीनामा गराएर वामदेवलाई डोल्पाबाट चुनाव लडाउने तयारी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गरिसकेका छन् । मतदातासँगको परामर्शपछि उपनिर्वाचनका लागि राज्यमन्त्री बुढाले बामदेवका लागि भोट मागेर काठमाडौं फर्किएका हुन् ।

गृह जिल्लामा मतदाताको सुझाव लिन आएका बुढाले वामदेवका लागि भोट मागिदिँदै काठमाडौं फर्किएका छन् । स्थानीय तहमा विशेष कार्यक्रम गर्ने योजना छाडेर बुढा बिमस्टेक बैठकमा सहभागी हुन बिहीबार काठमाडौं फर्किएको उनका स्वकीय सचिव भीमबहादुर बुढाले जानकारी दिए । जिल्ला बसाइका क्रममा उनलाई मतदाताले राम्रो सुझाव र सल्लाह दिएकको भन्दै आफु राजीनामा दिने मनस्थितिमा पुगेको राज्यमन्त्री धनबहादुर बुढाले बताएका छन् ।

मैले गृह जिल्लामा मतदाताको राय लिएको छु, केन्द्रको निर्णय र मतदाताको राय अनुसार राजीनामा दिनेछु , उनले भनेका छन् । राज्यमन्त्री बुडाले हाइप्रोफाइल शीर्ष नेता पाउनु डोल्पालीका लागि शौभाग्य भएको पनि दाबी गरे । बुढाले उपनिर्वाचनमा वामदेवलाई भोट हाल्न पनि मतदातालाई अनुरोध गरेका छन् । हामीले वामदेव गौतमलाई जितायौं भने जिल्लाको मुहार फेरिनेछ, ढुक्‍क हुनुहोस्, पार्टीले घात गर्ने छैन, उनले मतदातालाई फकाउँदै भने ।

डोल्पाबाट भारी मतले विजयी राज्य मन्त्री बुढालाई राजीनामा दिन लगाएर उपनिर्वाचन गराई वामदेवलाई जिताउने निर्णय केन्द्रले कुन सर्तमा गरेको भन्ने कुरा डोल्पालीले जान्न चाहेका छन् । मतदाताले वास्तविक कुरा जान्न चाहे पनि राज्यमन्त्री बुढाले भने कुनै कुरा खोल्न मानेनन् ।
अन्नपूर्णबाट

२०७५ भदौ १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्