
विराटनगर – शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कक्षा १ काविद्यार्थी पढाएका छन । विराटनगरको जागृति आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ का एक जना छात्राले मन्त्री पोखरेललाई ए.बि.सि.डि र कखरा पढाएका हुन ।
विद्यालयको अनुगमन गर्न गएका मन्त्री कक्षा कोठामा बसेर दुई घन्टा पढेका थिए । विद्यालयमा दोश्रो चोटी अनुगमन गर्न गएकावेला मन्त्री पोखरेल कक्षा कोठामा विदार्थीसंगै पढेका हुन ।
चैत पहिलो साता शिक्षामन्त्री गिरिराजमणि पोखरेल जागृति आधारभूत विद्यालयमा छड्के अनुगमन गर्न पुगेका वेला २–४ जना मात्र विद्यार्थी थिए । शिक्षक थिएनन् ।
दुई महिनाअघि शिक्षामन्त्री छड्केमा आउँदा स्कुलको प्रध्यानाध्यापक गणेश अधिकारी थिए । निजी स्कुल सञ्चालन गरिरहेका अधिकारीको सरुवा भएपछि दधीराम नेपाल प्रध्यानाध्यापक भए । १५ वैशाखमा हाजिर भएका नेपालले अभिभावकसँग घरदैलो गरी ४ जना विद्यार्थीबाट १४८ जना पुर्याएपछि मन्त्री अहिले दंग भएर फर्किएका छन् ।
ऋषिदेव समुदायका विद्यार्थी मात्र अध्ययन गर्ने स्कुलमा वृहत राष्ट्रिय शिक्षा अभियानले पनि काम गरिरहेको छ । अभियानले विराटनगरका पाँचसहित देशभरका १० वटा विद्यालयमा शिक्षा सुधारको काम गरिरहेको अभियानका सहसंयोजक श्रीमन्त भट्टराई बताउँछन् । ‘मन्त्रीज्यू फर्किहाल्नुहुन्छ जस्तो लागेको थियो तर, दुई घण्टा बस्नुभयो’ उनले भने, ‘विद्यार्थीसँगै पढ्नुभयो ।’
काज सरुवा लिएर जागृति स्कुलमा हाजिर भएका नेपालले ४ जना मात्र विद्यार्थी भेटेका थिए । विद्यार्थी कम भएपछि खोरिया क्षेत्रमा घरदैलो अभियान चलाए र विद्यार्थीको संख्या १५० कटाए ।
‘व्यागमा चकलेट बोकेर विद्यार्थी लिन घरघर पुगेको छु’ उनी भन्छन्, ‘चकलेट दिएर विद्यार्थीलाई फकाएँ । अभिभावकलाई एक वर्ष पठाइदिनू, बोर्डिङको जस्तो बनाउने बाचा गरेको छु ।’
अभिभावकलाई पढाई सुधार गर्ने बाचा गरेका नेपालको आफ्नै कहिले सरुवा हुने टुंगो छैन । ‘काज सरुवा भएर आएको मन्त्रीलाई पनि सुनाएको छु’ प्रधानाध्यापक नेपालले अनलाइनखबरसँग भने, ‘यही राखिदिए स्कुल बनाएर देखाउँछु भनेको छु ।’
मन्त्रीले पनि काम गर्न दिने आश्वासन दिएका छन् । बालदेखि तीन कक्षा पढाई हुने विद्यालयमा नेपालसँगै दुई बाल शिक्षिका र दुई सहयोगी छन् ।
२०७६ जेठ २४ गते प्रकाशित
