News Portal

विप्लव नेकपाका नेताको फेरियो जिम्मेवारी, को कहाँ (सूचीसहित)

मोटिभेटन्यूज संवाददाता
२४०६ पटक

काठमाडौं – प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेता एवं पदाधिकारीहरुको सांगठनिक जिम्मेवारी फेरबदल गरेको छ । केही दिनअघि बसेको स्थायी समिति बैठकले नेता एवं पदाधिकारीको जिम्मेवारी फेरबदल गरेको हो ।

पार्टी भूमिगत भएकाले सुरक्षाका लागि नेता कार्यकर्ताको छिटोछिटो जिम्मेवारी फेर्ने नीति लिएको नेकपाले अहिले चार कमान्ड र ११ ब्युरोमा विभाजन गरेर सांगठनिक, राजनीतिक एवं फौजी गतिविधि गरिरहेको छ । १२ जेठमा राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटमा परी आफ्नै कार्यकर्ताको ज्यान गएपछि विप्लवले ब्युरो र केही कमान्डको नेतृत्वमा फेरबदल गरेका हुन् ।

नयाँ सांगठनिक संरचना

नेकपाको सांगठनिक ढाँचामा स्थायी समिति सबैभन्दा माथिल्लो निकाय हो । जसमा पाँच सदस्य छन् । जसमध्ये रुकुमका हेमन्त प्रकाश ओलीलाई प्रहरीले पक्राउ गरेको छ । उनी अहिले नख्खु जेलमा छन् । बाँकी चार सदस्यले अहिले पार्टीको नेतृत्व गरिरहेका छन् ।

चार स्थायी कमिटी सदस्यमध्ये रोल्पाका नेत्रविक्रम चन्द (विप्लव) पार्टी महासचिव हुन् । त्यस्तै, रोल्पाकै सन्तोष बुढा मगर, कालिकोटका खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) र सुर्खेतका धर्मेन्द्र बास्तोला (कञ्चन) पार्टी स्थायी कमिटी सदस्य हुन् । प्रकाण्डलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

नेतैपिच्छेको जिम्मेवारी

महासचिव विप्लवले सिंगो पार्टीको नेतृत्व गरिरहेका छन् । त्यस्तै, उनी सैन्य विभाग प्रमुख पनि हुन् भने मध्ये कमाण्डको नेतृत्वपनि आफैले गरिरहेका छन । सैन्य विभागमा ९ सदस्य छन् । त्यहीं विभागले देशभर सैन्य, राजनीतिक र सांगठनिक गतिविधिका लागि निर्देशन दिन्छ ।

कालिकोटका प्रकाण्ड दोस्रो वरीयताका नेता हुन् । उनी मध्यकमान्डमा पार्टी महासचिव विप्लवको सहयोगीका रुपमा काम गरिरहेका छन । विप्लवलाई सुचना पु¥याउने सहयोगीका रुपमा काम गर्नका लागि उनलाई मध्ये कमाण्डको जिम्मा दिइएको छ । पक्राउ परेपछि केही समय निलम्बन जस्तै गरेको पार्टीले पुनः प्रबत्ताको जिम्मेवारी दिएको छ तर ठोस गतिविधिमा भने संलग्न गरिएको छैन् ।

हेमन्त प्रकाश वली अहिले ललितपुरको नख्खु जेलमा छन् । उनी पक्राउ पर्दा मध्यकमान्डको इन्चार्ज थिए । सन्तोष बुढा मगरले पूर्वी कमान्डको नेतृत्व गरिरहेका छन् । यसअघि उनले पश्चिम कमान्डको नेतृत्व गरेका थिए ।

धमेन्द्र बास्तोला (कञ्चन)लाई सुदूरपश्चिम कमान्डको नेतृत्व दिइएको छ । यसअघि पनि उनी सदूरपश्चिम कमान्डकै नेतृत्वमा थिए । उनले विदेश विभागको जिम्मेवारीसमेत सम्हालेका छन् । तत्कालीन माओवादीले सञ्चालन गरेको द्वन्द्वका बेला पनि कञ्चनले विदेश विभाग नै सम्हालेका थिए ।

पश्चिम कमान्डको नेतृत्व वीरजंगलाई दिइएको छ । उनी नेकपाको पोलिट ब्युरो सदस्यसमेत हुन् । अरु कमान्डको इन्चार्ज स्थायी समिति सदस्य भए पनि पश्चिम कमान्डको नेतृत्व भने पोलिट ब्युरोलाई दिइएको हो । वीरजंग विप्लवका दाइ हुन् ।

ब्युरोमा पनि हेरफेर

विप्लव नेतृत्वको नेकपामा पहिला १४ वटा ब्युरो थिए । अहिले घटाएर ११ वटा ब्युरो बनाइएको छ ।

१) कोसी–मेची ब्युरोको इन्चार्जको जिम्मा उमा भुजेल ‘शिलु’लाई दिइएको छ । उनी राजनीतिक र सैन्य क्षेत्रमा कुशल मानिन्छन् ।

२ सगरमाथा ब्युरोको इन्चार्जमा दिपेश राई छन् । उनी पहिलादेखि नै यही ब्युरोमा रहेर काम गरिरहेका छन् ।

३) जनकपुर ब्युरोको इन्चार्ज ‘सन्देश’ छन् । उनी पहिला पनि सैन्य क्षेत्रमा काम गरेका युवा हुन् ।

४) पूर्वी ताम्सालिङ ब्युरोको इन्चार्जमा ‘आधार’ छन् । उनी सांस्कृतिक फाँटका हुन् ।

५) नारायणी प्लस चितवन ब्युरोको इन्चार्जमा ‘मिलन’ छन् । उनले पहिला पनि सैन्य विभागमा काम गरेका थिए । अध्ययन अनुसन्धानमा रुचि राख्ने उनी रोल्पाका हुन् । यो ब्युरोलाई अहिले दुई ब्युरो मिलाएर बनाइएको छ ।

६) उपत्यका पश्चिम ताम्सालिङ नयाँ ब्युरो हो । यो ब्युरो दुई ब्युरो मिलाएर बनाइएको हो । पहिला उपत्यका ब्युरो र पश्चिम ताम्सालिङ ब्युरो थियो । यसको इन्चार्जमा माइला लामा ‘प्रज्वलन’ छन् ।

७) गण्डक ब्युरोको इन्चार्ज ‘आस्था’ हुन् । उनी बेपत्ता पारिएका परिवारकी हुन् ।

८) धौलागिरी ब्युरोको इन्चार्जमा ‘ध्रुव’ छन् । उनी पुराना नेता हुन् ।

९) पुराना दुई ब्युरो मिलाएर बनाएको भेरी कर्णाली ब्युरो बनाइएको छ । पहिला भेरी र कर्णाली अलग–अलग ब्युरो थिए । भेरी कर्णालीको इन्चार्ज भरत बम ‘रणविर’लाई बनाएको छ । उनी अहिले इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा छन ।

१०) राप्ती ब्युरो इन्चार्जमा सुवास पाठक छन् ।

११) सेती महाकाली ब्युरो पनि दुई ब्युरो जोडेर बनाएको छ । पहिला सेती र महाकाली अलग–अलग ब्युरो थिए र यो ब्युरोको नेतृत्व ओम पुनले गरिरहेका छन् ।

त्यस्तै, प्रकाशन विभागको जिम्मा अनिल शर्मा विरहीलाई दिइएको छ । यसअघि उनी पूर्वी कमान्डको इन्चार्ज थिए ।

कार्यालय सचिवको जिम्मेवारीमा भेषराज भुसाल छन् । गुणराज लोहनीले भने आन्तरिक कामको जिम्मेवारी पाएका छन् ।

काठमाडौंको इन्चार्जमा ‘नवीन’ चयन भएका छन् । सेक्रेटरीमा भृकुटी छन् । सिलापत्रकाे सहयोगमा

२०७६ जेठ २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्