News Portal

घुस लिँदालिँदै घुस रकमसहित इन्जिनियर पक्राउ

मोटिभेटन्यूज संवाददाता
५८७ पटक

सप्तरी – सप्तरीको रुपनी गाउँपालिकामा कार्यरत इञ्जिनियर विकास श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित तरही र देउरी गाउँ जोड्ने स्वर्णा खोलाको झोलुंगे पुल निर्माण कार्यको पहिलो किस्तावापतको पेश्की फर्छ्यौटका लागि मूल्यांकन गर्न इञ्जिनियर श्रेष्ठले घुस मागेको भन्ने सूचनाका आधारमा प्रदेश उक बाट खटिएको आयोगकोटोलीले उनलाई आज पक्राउ गरेको हो ।

पेश्की फछ्यौटका लागि मूल्यांकन गरिदिने भन्दै स्वर्णा खोला झोलुंगे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष राजिब रायसँग श्रेष्ठले घुस लिएको आयोगले जनाएको छ । राजविराज नगरपालिका–६ स्थित डेराबाट श्रेष्ठलाई घुसवापत लिएको एक लाख नगदसहित रंगेहात पक्राउ गरी छानबिन सुरु गरिएको आयोगले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक सारुको नेतृत्वमा आएको टोलीले श्रेष्ठको डेरामा छापा मारी एक लाख रुपैयाँ फेला पारेको राजविराज नगरपालिका–६ का वडा अध्यक्ष प्रेमकुमार यादवले बताए ।

स्वर्णा खोलाको झोलुंगे पुल निर्माण कार्यको पहिलो किस्तावापत पेश्की लिएको आठ लाख रुपैयाँ बराबरको काम सम्पन्न नभएको भन्दै मूल्यांकन हुन नसक्दा उपभोक्ता समितिले दोस्रो किस्ता वापतको पेश्की रकम उठाउन पाएको छैन् ।

तत्कालिन जिल्ला विकास समिति सप्तरीद्वारा २०७० सालदेखि नै थालिएको पुल निर्माणको काम मूल्यांकन नहुँदा अधुरो छ । पक्राउ परेका श्रेष्ठले स्वर्णा खोलाको काम बोदे बर्साइन नगरपालिकाअन्तर्गत परेकोले आफूले मूल्यांकन गर्न नमिल्ने बताए पनि उपभोक्ता समितिले मूल्यांकन गरी दिन दवाव दिँदै आएको बताए । साथै सापटीवापत बिहान रुपैयाँ दिएको समेत श्रेष्ठले बताए ।

२०७६ जेठ ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्