News Portal

लिनुमा भन्दा त दिनुमै बढ्ता आनन्द हुन्छ नि, होइन र ?

मोटिभेटन्यूज संवाददाता
३८४ पटक

एक समय स्वामी विवेकानन्द अमेरिका भ्रमणमा थिए । अमेरिकाका विभिन्न स्थानमा उनको प्रवचन चलिरहेको थियो । त्यहाँ उनी एक महिलाको घरमा अतिथिका रूपमा बसेका थिए । उनी आफ्ना लागि आफैँ खाना बनाउँथे । एक दिन प्रवचन र लामो यात्राबाट थकित भएर विवेकानन्द निवास फर्किए । निवासमा फर्केपछि हातमुख धोएर फ्रेस भइसकेपछि उनले रोटी, तरकारी तयार गरे । उनी जहिल्यै केही बढी नै रोटी तरकारी तयार गर्थे । उनको निवासमा भोका केटाकेटी आइरहन्थे । उनी तिनलाई खुवाउन पाउँदा निकै आनन्दित हुन्थे ।

त्यस दिन पनि उनको रोटी तरकारी तयार हुँदा–नहुँदै कताकताबाट केटाकेटीको झुन्ड आइपुग्यो । उनी ती केटाकेटीलाई रोटी तरकारी खुवाउन थाले । त्यो दिन अलि बढी नै केटाकेटी आएका थिए । त्यसैले, उनले तिनलाई खुवाउँदा–खुवाउँदै सबै रोटी र तरकारी सकियो । उनले केटाकेटीलाई रोटी तरकारी खुवाएको दृश्य उनकी घरधनी महिलाले हेरिरहेकी थिइन् । केटाकेटी गइसकेपछि उनले सोधिन्– स्वामीजी, तपाईंले दुःखले तयार गरेको सबै रोटी, तरकारी त केटाकेटीले खाइदिए । अब तपाईं के खाएर आफ्नो पेट भर्नुहुन्छ ?

घरधनीको प्रश्न सुनेपछि मुसुक्क हाँस्दै विवेकानन्दले भने– माता, रोटी त पेटको ज्वाला शान्त पार्ने वस्तु न हो । के फरक प-यो त ? आखिर यो पेटको ज्वाला शान्त पार्न नपाए पनि मैले तयार गरेको रोटी, तरकारीले ती ससाना बालबालिकाको पेटको ज्वाला त शान्त पा¥यो नि ! आखिर लिनुमा भन्दा त दिनुमै बढ्ता आनन्द हुन्छ नि, होइन र ?

२०७६ असार ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्