News Portal

राष्ट्रपति जस्तो व्यक्ति बलात्कारको घटनामा मौन किन ? – हिसिला यमी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४२५ पटक
काठमाडौं

साउन ३१, काठमाडौं – नयाँ शक्ति पार्टी नेपालकी हेडक्वार्टर सदस्य एवं पूर्व पर्यटनमन्त्री हिसिला यमीले सामाजिक, आर्थिक, मनोवैज्ञानिक, वैचारिक, सांस्कृतिक आदि कारणले समाजमा दिनप्रतिदिन बलात्कारको घटना बढिरहेको बताएकी छिन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यमीले भनिन्, “महिलालाई लजालु बनाएर लुकाउने र निजी साधनको रुपमा घर गृहस्थीमा सीमित राख्ने गरिन्छ । अझै पनि नेपालमा छाउपडी प्रथा रहेको छ । जबसम्म नेपालका सबै नागिरकहरु सचेत हुँदैनन्, तबसम्म बलात्कारको घटना बढिरहन्छ ।”
उनले वर्तमान सरकार बलात्कार र हत्या हिंसाको बारेमा मौन रहेको आरोप समेत लगाइन् । “हाल आफूलाई कम्युनिष्ट भन्न रुचाउने पार्टीको नेतृत्वमा अहिलेको सरकारमा दुई तिहाई बहुमत रहेको छ । तर, बलात्कार हत्या हिंसाको घटनामा किन मौन ? राष्ट्रपति जस्तो व्यक्ति बलात्कारको घटनामा मौन किन ?” उनले प्रश्न गरिन् ।
कार्यक्रममा युवा शक्ति नेपालकी नेतृ ज्ञानु आचार्यले महिला आफ्नो जिन्दगीबाट हार खाएमा सिंगो समाज फेल खाने भन्दै महिलाहरु जागरुक हुनुपर्ने बताइन् । सांसद रेखा शर्माले महिला हिंसा अन्त्यको लागि विद्यालयस्तरदेखि नै सबैलाई सचेत गराउनुपर्ने बताइन् ।

२०७५ साउन ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्