News Portal

विश्वकप क्रिकेट : हार्‍यो भारत, रोहितको शतक र विराटको अर्धशतकले पनि हार टार्न सकेनन्

मोटिभेटन्यूज संवाददाता
४८२ पटक

भारतलाई पराजित गर्दै आयोजक इंग्ल्याण्डले जारी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ ।

प्रतियोगितामा अपराजित रहेको भारतले भने पहिलो हार बेहोरेको छ र यो हारले सेमिफाइनलमा स्थान बनाइहाल्ने उसको उद्देश्यमा धक्का लागेको छ ।

आइतबार भएको खेलमा भारतमाथि इंग्ल्याण्डले ३१ रनको हार बेहोरेको हो । ३३८ रनको लक्ष्य पछ्याएको भारतले पूरै ओभर खेलेर पाँच विकेटको क्षतिमा ३०६ रन बनायो ।

भारतका लागि रोहित शर्माले शतकीय पारी खेले । उनले १०९ बलमा १५ चौकाको सहयोगमा १०२ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ६६ रन बनाए । यस्तै हार्दिक पाण्डेयले ४५, महेन्द्र सिंह धोनीले नटआउट ४२ तथा ऋषभ पन्तले ३२ रन बनाए पनि हार टार्न भने सकेनन् ।

भारतका सुरुवाति ब्याट्सम्यान केएल राहुल ९ बल खेलेर बिना रन आउट भए । इंग्ल्याण्डका लियम प्लुन्किट्टले तीन तथा क्रिस वोक्सले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको इंग्ल्याण्डले सात विकेटको क्षतिमा ३३७ रन बनायो । उसका लागि जोनी बेयरेस्टले शतकीय पारी खेले । उनले १०९ बलमा १० चौका र ६ छक्का सहयोगमा १११ रन बनाए । यस्तै बेन स्टोक्सले ७९, ज्यासन रोयले ६६ तथा जोय रुटले ४४ रनको योगदान दिए ।

भारतका मोहम्मद शमीले पाँच विकेट लिए । उनले १० ओभरमा ६९ रन खर्चेर पाँच विकेट लिएका हुन् । जसप्रीत बुमराह र कुलदीप यादवले एक एक विकेट लिए ।

हारपछि पनि भारत दोस्रो स्थानमा कायम छ । उसको सात खेलबाट ११ अंक छ । जितले इंग्ल्याण्ड पाकिस्तानलाई पछि पार्दै शीर्ष चारमा उक्लिएको छ । उसको ८ खेलबाट १० अंक भएको छ । पाकिस्तानको ९ अंक छ ।

२०७६ असार १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्