News Portal

विप्लव नेकपाको सेती–महाकाली ब्युरो बैठक सम्पन्न, यस्ता छन् बैठकका निर्णय

मोटिभेटन्यूज संवाददाता
१६९५ पटक

धनगढी – प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोको बैठक सम्पन्न भएको छ । हालै सम्पन्न बैठकले आफ्नो पार्टीमाथि फासिवादी तरीकाले दमनमा उत्रिएको ओली सरकारलाई काउन्टर दिने खालका निर्णयहरु गरेको छ ।

बैठकले अरबौ करछली गर्दै आएको एनसेलबिरुद्धको ‘नो ट्याक्स, नो एनसेल’ अभियानलाई शशक्तरुपमा अगाडि बढाउने र त्यस अभियानमा साथ दिन जनतालाई अपिल गर्नेनिर्णय गरेको छ । त्यस्तै पछिल्लोपटक मेलम्चीको ठेक्का प्रकरणमा भएको ठाडो भ्रष्ट्राचार, त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा भएको नम्बर घटबढको घटना र टेलिकममा भएको फोर(जी घोटालाजस्ता विषयमा पनि नेकपाले आफ्नो ध्यान केन्दित गरेको छ ।

वैठकपछि एक विज्ञप्ति सार्वजनिक गर्दै ब्युरो इन्चार्ज निर्माणले वैज्ञानिक वन व्यवस्थापनको नाममा केही निश्चित दलाल काठ व्यवसायी, सामुदायिक वनका पदाधिकारी, संसदवादी दलका भ्रष्ट नेता कार्यकर्ता र कमिशनखोर कर्मचारीको मिलेमतोमा अन्तर्राष्ट्रिय मापदण्ड विपरित पर्यावरण नै नाश हुनेगरी कैलाली, कञ्चनपुर, चुरे र केही पहाडी जिल्लाका वनहरुमा जथाभावी रुख कटानी भएको भन्दै यसलाई कडाइसाथ रोक्ने र दोषि उपर कार्वाही गर्ने निर्णय गरेको जानकारी दिएका छन् । साथै अनाधिकारिक रुपमा जथाभावी गिटी बालुवा उत्खनन र निकासी गर्ने, अन्य प्राकृत्तिक सम्पदा माथिको दोहन र तस्करीलाई पनि नियन्त्रण गर्ने निर्णय पनि बैठकले लिएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले पछिल्लोपटक मेलम्चीको ठेक्का प्रकरणमा भएको ठाडो भ्रष्टाचार, त्रिभुवन विश्वविद्यालय को सेवा आयोगमा भएको नम्बर घटबढको घटना र टेलिकममा भएको फोर जि घोटाला जस्ता विषयमा ध्यान केन्द्रित गर्दै सेती महाकालीका स्थानीय निकायमा भईहेको भ्रष्टाचार, चर्को करबृद्धी, महंगी, वित्तीय संस्थाको नाममा भईरहेको लुटपाट, एनजीओर आईएनजिअओको अनावश्यक सामाजिक घुसपैठ , सरकारी कार्यालयहरूमा भईरहेको अनियमितता र चरम भ्रष्टाचार, समाजमा व्याप्त बिकृती र विसंगति, स्वास्थ्य र शिक्षा क्षेत्रमा मौलाउँदै गएको अनियमितता र विसंगति का बिरुद्ध जनकारवाहीलाई अगाडि बढाउने निर्णय समेत गरेको छ ।

त्यस्तै युद्धकालमा कब्जा गरिएका कैलालीको लालपुर हरैया लगायतका जमिनहरुको लगत संकलन गरि पार्टीको नियन्त्रणमा राख्ने तथा भूमाफियाहरुलाई कार्वाही गर्ने निर्णय भएको समेत इन्चार्ज निर्माणद्वारा हस्ताक्षित विज्ञप्तिमा उल्लेख छ । साथै कतिपय ठाउँमा पुलिस र अन्य लुटेरा समुहले नै आफ्नो पार्टीको लेटरप्याड र सहयोग रसिद प्रयोग गरेको प्रमाण फेला परेको भन्दै नेकपाले आफ्नो पार्टीको नाममा अनाधिकारीक चन्दा उठाउने, विकास बजेटबाट घोषित अघोषित कमिशन खाने, उद्योगी व्यापारीबाट हप्ता उठाएर खाने तर उल्टै आफ्नो पार्टीमाथि कथित चन्दा आतंकको आरोप लगाउने दलाल, भ्रष्ट र माफियाकाविरुद्ध जनस्तरमा भण्डाफोर र कार्वाही गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै केपी ओली नेतृत्वको सरकारलाई दलाल सरकारको संज्ञा दिँदै नेकपाले अछाम, काभ्रेपलाञ्चोक, भोजपुर हुँदै सोलुखुम्बु र संखुवासभासम्म कथित दोहोरो भिडन्तको नाममा एकतर्फी फायर खोलेर कथित मुडभेटको कलाविहिन नाटक मंचन गरी कुमार र तिर्थलाई गैर न्यायिक हत्या गरिसकेको भन्दै आपत्ती जनाएको छ । आफ्नो पार्टीको सुरक्षा निकायका विरुद्ध फायर खोल्ने निति नहुँदा नहुँदै एकोहोरो फायर खोलेर आफुहरुलाई उत्तेजित पार्ने र आफ्नो असफलतालाई विषयान्तर गरि युद्ध भड्काउने र अर्कोतिर आफ्ना नेता कार्यकर्तालाई जेल हाल्ने, आत्मसमर्पण गराउने र त्यो गर्न नसक्नेलाई कथित मुडभेटको नाउँमा इन्काउण्टर गर्ने रणनीति केपी ओलीको सामाजिक दलाल पुँजीवादी सरकार र उसको पार्टीले लिएको विज्ञप्तिमा उल्लेख छ । ‘दलालहरुको यो रणनीति लाई असफल पार्न बैठकले पार्टीले अघि सारेको सक्रिय रक्षाको नितिमा रहि काम कार्वाहीलाई अगाडि बढाउने निर्णय लिएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रेस विज्ञप्ति

– २०७६÷३÷२३

हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युरोको बैठक भरखरै सम्पन्न भएको छ । बैठकले लिएका केही सार्वजनिक महत्त्वका निर्णयहरूलाई सार्वजनिक जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ । जो निम्न वमोजिम छन् ।

१) सर्वप्रथम त सेती र महाकाली ब्युरोको एकीकरण पश्चात बसेको पहिलो बैठकले जनक्रान्तिका महान शहिदहरु प्रति भावपुर्ण श्रद्धाञ्जली सहित बेपत्ता तथा घाइते योद्धाप्रति उच्च सम्मान ब्यक्त गर्दै भरखरै मात्र एकीकृत जनक्रान्तिको क्रममा बलिदान गर्नुहुने कमरेडहरु कुमार पौडेल, महान, प्रज्वल शाही, तिर्थ घिमिरे, निरन्तर, दिपेन्द्र लगाएतका शहिदहरुको संझनामा शोक प्रस्ताव पारित गरेको छ । साथै बैठकले शहिदहरुको नाममा निर्माण गरिने प्रतिष्ठान, अक्षय कोष र शहिदपरिवारलाई आर्थिक एवं भौतिक सहयोग गर्ने निर्णय पनि गरेको छ ।

२) बैठकले राज्यलाई अर्बौं कर नतिर्ने र उपभोक्तालाई ठग्ने Ncell  का बिरुद्ध No Tax No Ncell को एनसेल बहिसष्कार अभियानलाई अगाडि बढाउने र त्यस अभियानमा आम जनसमुदायलाई साथ दिन अपिल गर्ने निर्णय गरेको छ ।

३) कथित वैज्ञानिक वन व्यवस्थापन को नाममा केही निश्चित दलाल काठ व्यवसायी, सामुदायिक वनका पदाधिकारी, संसदवादी दलका भ्रष्ट नेता कार्यकर्ता र कमिशनखोर कर्मचारीको मिलेमतोमा अन्तर्राष्ट्रिय मापदण्ड विपरित पर्यावरण नै नाश हुनेगरी कैलाली, कञ्चनपुर, चुरे र केही पहाडी जिल्लाका वनहरुमा जथाभावी रुख कटानी भएकोले यसलाई कडाइसाथ रोक्ने र दोषि उपर कार्वाही गर्ने निर्णय बैठकले गरेको छ । साथै अनाधिकारिक रुपमा जथाभावी गिटी बालुवा उत्खनन र निकासी गर्ने, अन्य प्राकृत्तिक सम्पदा माथिको दोहन र तस्करीलाई पनि नियन्त्रण गर्ने निर्णय पनि बैठकले लिएको छ ।

४) बैठकले पछिल्लोपटक मेलम्चीको ठेक्का प्रकरणमा भएको ठाडो भ्रष्टाचार, त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा भएको नम्बर घटबढ को घटना र टेलिकममा भएको फोर जि घोटाला जस्ता विषयमा ध्यान केन्द्रित गर्दै सेती महाकालीका स्थानीय निकायमा भईहेको भ्रष्टाचार, चर्को करबृद्धी, महंगी, वित्तीय संस्थाको नाममा भईरहेको लुटपाट, एनजीओर आइएनजिओको अनावश्यक सामाजिक घुसपैठ , सरकारी कार्यालयहरूमा भईरहेको अनियमितता र चरम भ्रष्टाचार, समाजमा व्याप्त बिकृती र विसंगति, स्वास्थ्य र शिक्षा क्षेत्रमा मौलाउँदै गएको अनियमितता र विसंगति का बिरुद्ध जनकारवाहीलाई अगाडि बढाउने निर्णय गरेको छ ।

५) बैठकले युद्धकालमा कब्जा गरिएका कैलालीको लालपुर हरैया लगायतका जमिनहरुको लगत संकलन गरि पार्टीको नियन्त्रणमा राख्ने तथा भूमाफियाहरुलाई कार्वाही गर्ने निर्णय गरेको छ । साथै हाम्रो पार्टीको नाममा अनाधिकारीक चन्दा उठाउने (कतिपय ठाउँमा पुलिस र अन्य लुटेरा समुहले हाम्रो पार्टीको लेटरप्याड र सहयोग रसिद प्रयोग गरेको प्रमाण फेला परेको छ), विकास बजेटबाट घोषित अघोषित कमिशन खाने, उद्योगी व्यापारीबाट हप्ता उठाएर खाने तर उल्टै हाम्रो पार्टी माथि कथित चन्दा आतंकको आरोप लगाउने दलाल, भ्रष्ट र माफियाका विरुद्ध जनस्तरमा भण्डाफोर र कार्वाही गर्ने निर्णय पनि गरिएको छ ।

६) केपी ओलीको दलाल सरकारले अछाम, काभ्रेपलाञ्चोक, भोजपुर हुँदै सोलुखुम्बु संखुवासभा सम्म कथित दोहोरो भिडन्तको नाममा एकतर्फी फायर खोल्ने काम गरेको छ । कथित मुडभेट को कलाविहिन नाटक मंचन गरि कमरेड कुमार र तिर्थलाई गैर न्यायिक हत्या गरिसकेको छ । हाम्रो पार्टीको सुरक्षा निकायका विरुद्ध फायर खोल्ने निति नहुँदा नहुँदै एकोहोरो फायर खोल्नु भनेको हामीलाई उत्तेजित पार्ने र दलालहरुले आफ्नो असफलतालाई विषयान्तर गरि युद्ध भड्काउनु हो । एकातिर कथित वार्ताको हल्ला गर्ने र अर्कोतिर हाम्रा नेता कार्यकर्तालाई जेल हाल्ने, आत्मासमर्पण गराउने र त्यो गर्न नसक्नेलाई कथित मुडभेट को नाउँमा इन्काउण्टर गर्ने रणनीति केपी ओलीको सामाजिक दलाल पुँजीवादी सरकार र उसको पार्टीले लिएको छ । दलालहरुको यो रणनीति लाई असफल पार्न बैठकले पार्टीले अघि सारेको सक्रिय रक्षाको नितिमा रहि काम कार्वाहीलाई अगाडि बढाउने निर्णय लिएको छ ।

७) बैठकले केपी ओली सरकारको गैर राजनीतिक चरित्र र फाँसिवादी व्यवहारका विरुद्ध सबै शक्ति र नागरिक समाजसँग मिलेर खुला राजनीतिक संघर्षलाई अगाडि बढाउने तथा राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवालमा मुद्दा मिल्ने सबैसँग सहकार्य को लागि पहल गर्ने निर्णय गरेको छ । साथै बैठकले शहिद परिवार र बन्दी परिवारको सवालमा पनि आवस्यक सहयोग र हेरचाह गर्ने निर्णय गरेको छ ।

८) बैठकले जेठ महिनाको हावाहुरीले जनताको घर र केरा खेती लगायतको धनजनको क्षतिको उचित क्षतिपुर्ति दिन, किसानको मल बिउ र सिँचाइको उचित व्यवस्थापन गर्न र असारे विकासको नाममा भइरहेको अनियमिततालाई रोक्न, भारतबाट आउने विषादीयुक्त फलफूल र तरकारी रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने र यदि त्यसलाई बेवास्ता गरे जनसत्ता मार्फत हस्तक्षेप गर्ने निर्णय गरेको छ ।

तसर्थ क्रान्ति हाम्रो पार्टीको मात्रै सरोकारको विषय नभएर यो सिंगो जनता र देशको विषय हो । देशमा विद्यमान समस्या पनि हाम्रो पार्टीका नभइ आम जनताका हुन । हाम्रो पार्टीको भनाइ यतिमात्र छ कि यसलाई सबै मिलेर हल गरौ । अन्तमा सामाजिक दलाल फाँसिवादी केपी बादल सरकार द्वारा नेकपा बिरूद्ध लगाइएको प्रतिबन्ध, दमनधरपकड, हत्या आतंक, झुटा मुद्दा तथा राष्ट्रघात जनघात विरूद्ध प्रतिरोध सङ्घर्षमा सक्रिय भुमिका निर्वाह गर्नुहुने सेतिमहाकालीका नेता कार्यकर्ता तथा सहयोगात्मक भुमिका निर्वाह गर्नुहुने जनसमुदायमा धन्यवाद व्यक्त गर्न चाहन्छौं ।

क्रान्तिकारी अभिवादन
क. निर्माण
इन्चार्ज

२०७६ असार २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्