News Portal

सरकारका विरुद्ध वामदेवले मुख खोले, प्रधामन्त्री ओलीलाई झट्का !

मोटिभेटन्यूज संवाददाता
९३६ पटक

काठमाडौं – सत्तारुढ नेकपाका सचिवालय सदस्य वामदेव गौतमले पनि सरकारका विरुद्धमा मुख खोलेका छन । विषादी परिक्षणका विषयमा सत्तारुढ नेकपाकै नेता तथा अखिल नेपाल किसान महासंघका अध्यक्ष बामदेव गौतमले भारतीय दूतावासको दबाबमा तरकारी तथा फलफूलको विषादी परीक्षण रोकिनु त्रुटिपूर्ण भएको भन्दै सरकारको विरोध गरेका छन ।

किसान महासंघको मंगलबार बसेको स्थायी कमिटी बैठकपछि गौतमले विज्ञप्ति जारी गरी भारतबाट आयात हुने तरकारी तथा फलफूलहरुको विषादी परीक्षण गरेर मात्रै ल्याउनुपर्ने सरकारको निर्णय स्वागतयोग्य रहे पनि भारतीय दूतावासको पत्रपछि फिर्ता लिनु त्रुटिपूर्ण रहेको बताएका हुन् ।

आवश्यक अनुसन्धान तथा पूर्वतयारीको अभावमा गरिएको भए पनि नेपाल सरकारको सो निर्णय सही र नेपाली किसानहरु तथा आम उपभोक्ताको पक्षमा भएको भन्दै विज्ञप्तिमा परन्तु भारतीय राजदूतावासले पत्राचार गरेलगत्तै नेपाल पछि हट्ने कार्य त्रुटिपूर्ण छ उल्लेख छ । विज्ञप्तिमा अगाडी भनिएको छ, ‘यसबाट एकातिर आम नेपाली जनतामा नेपाल सरकार भारतसँग आत्मसमपर्ण गरेको भ्रम फैलन पुगेको छ ।’

भारतीय दूतावासले सो निर्णय रोक्नका लागि चुनौतीपूर्ण भाषा प्रयोग गर्दै गैरकुटनीतिक तरिकाले नेपाल सरकारलाई पत्राचार गरेको भन्दै महासंघले आपत्ति जनाएको छ ।

गौतमले विगतमा किसान विरोधी नीतिहरु लाद्ने प्रतिपक्षी दल सडकमा उत्रने अवस्था सिर्जना भएको भन्दै कांग्रेसमाथि पनि प्रश्न उठाएका छन् । उनले भनेका छन् ‘नेपाली काँग्रेस लगायतका शक्तिहरु सरकारविरुद्ध सडकमा उत्रनु भारतीय राजदुतावासको पत्राचारको विरुद्धमा हो वा नेपाल सरकारले गरेको निर्णयका विरुद्ध हो, त्यो समेत प्रष्ट छैन । यसले जनतालाई थप भ्रम सिर्जना हुन पुगेको छ ।’

२०७६ असार २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्