News Portal

रामेछापको दोरम्बा पुगेर प्रचण्डले भने: वीर शहीदहरुले गरेको वलिदान बिर्सन सकिन्न

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
९९६ पटक
काठमाडौं

साउन ३१, रामेछाप – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार रामेछापको दोरम्बा आएका छन् । दोरम्बा स्मृति दिवसको अवसर पारेर आएका प्रचण्डले नेपालको राजनीतिमा दोरम्बाले दिएको वलिदानलाई कसैले बिर्सन नसक्ने बताएका छन् ।

नेपालमा राजसंस्थाको अन्त गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न दोरम्बामा वीर शहीदहरुले गरेको वलिदान बिर्सन नसकिने उनले बताए ।

दोरम्बालाई युद्ध पर्यटन क्षेत्रको रुपमा विकास गर्ने भन्दै उनले शहीदहरुले देखाएको बाटोमा नेपाल कम्युनिस्ट पार्टी सधैं लागि रहने बताए । उनले दोरम्बा हत्या काण्ड तत्कालीन दरबारको ठाडो इशारामा भएको समेत आरोप लगाए ।

कार्यक्रममा दोरम्बा घटनामा ज्यान गुमाएकाका परिवारलाई प्रचण्डले सम्मानसमेत गरेका थिए । तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेका बेला २०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा माओवादी जनसरकार प्रमुख बाबुराम लामासहित २१ जनालाई सेनाले हत्या गरेको थियो । त्यो घटनापछि माओवादीले सरकारसँगको वार्ता भंग गरेको थियो ।

पीडितहरुले भने दोरम्बा हत्याकाण्डको १५ वर्ष बितिसक्दा समेत पीडितले न्याय नपाएको गुनासो गरेका छन् । पीडित परिवारले न्याय नपाएको गुनासो गरिरहँदा त्यही पार्टीका नेतृत्वले भने न्याय दिलाउने आश्वासन दिलाएका छन् । तत्कालीन माओवादीका अध्यक्ष तथा अहिलेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायको लागि पहल गर्ने आश्वसान दिए पनि पीडितहरु भने विश्वस्त हुन सकेका छैनन् ।

 

२०७५ साउन ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्