News Portal

बिमस्टेक सैन्य अभ्यासबारे सरकार पक्षकै असहमति, निर्णय सच्याउन रावलको माग

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२५० पटक
काठमाडौं

भदौ २०, काठमाडौं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रबीच भारतमा हुने भनिएको संयुक्त सैन्य अभ्यास विवादमा परेको छ ।

यो अभ्यासले चीन र पाकिस्तान जस्ता अन्य मित्र राष्ट्र चिढिने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेताहरुले असन्तुष्टि जनाएका छन् । झलनाथ खनाल देखि नारायणकाजी श्रेष्ठसम्मले सरकारको यो निर्णयमा पार्टी भित्र असन्तुष्टि जनाएका बेला अर्का नेता भीम रावलले भने सार्वजनिक मञ्चबाटै सैन्य अभ्यासको औचित्य माथि प्रश्न उठाएका छन् ।

पूर्व गृह तथा रक्षामन्त्री समेत रहेका रावलले मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार मार्फत बिम्स्टेक बैठकमा बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने भनेर गरेको निर्णय सच्याउन सरकारसँग माग गरेका छन् । संविधानको मर्मविपरित र राष्ट्रियताको हितविपरित बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास गर्ने भनेर गरिएको सहमतिमा सरकारले गल्ती गरेको उनको दाबी छ ।

बिम्स्टेक वैठक सम्पन्न गरेकोमा प्रधानमन्त्री, पराराष्ट्रमन्त्री, सम्बन्धित मन्त्रालयलाई धन्यवाद दिँदै रावलले भने , ‘तर केही निर्णयहरु गलत गरिएका छन्, त्यसैले मैले यसको बारेमा बोल्न बाध्य भएको हुँ, संविधानको हित विपरित र पार्टीको नीति विपरित कुनै सम्वाद, छलफल र बहस नगरिकन राष्ट्रियताको हितविपरित यसरी सरकारले निर्णय गर्नुले सरकारात्मक सन्देश दिँदैन् ।’

उनले देश र जनताको हित विपरित भए गरिएका कुनैपनि सम्झौताको बिरोधमा बोल्न आफूलाई कसैले रोक्न नसक्ने जिकिर गरे । सरकारले गरेका गलत कार्यमा आलोचना र राम्रा काममा साथ दिन उनले आग्रह गरे ।

यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि बिमस्टेक राष्ट्रहरुले गर्ने भनिएको सैन्य अभ्यासबारे सरकारसँग जवाफ माग्ने भएको छ । कांग्रेस नेता मीनेन्द्र रिजालले सैन्य अभ्यास गर्ने विषय गम्भीर भएकाले किन गर्न लागियो भन्ने कारण माग गरिने जानकारी दिए । सैन्य अभ्यासबारे संसदमा प्रधानमन्त्रीसँग जवाफ मागिने र त्यसपछि बल्ल धारणा बनाउने उनको भनाई छ ।

आर्थिक र प्राविधिक सहयोगका लागि गठन भएको विमस्टेक राष्ट्रहरुले किन सैन्य अभ्यास गर्नुप¥यो भनेर रिजालले प्रश्न समेत गरे । सैन्य अभ्यासका कारण देशभक्ति माथि आघात पुग्यो भने आफूहरुले स्वीकार गर्न नसकिने चेतावनी पनि रिजालले दिएका छन् ।
नागरिकबाट

२०७५ भदौ २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्