News Portal

विद्यासुन्दर शाक्य फेरी असफल, किन भएन काठमाडौं महानगरको लक्ष्य पुरा ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६४५ पटक
काठमाडौं

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य फेरी असफल भएका छन् । शाक्यले अघिल्लो आर्थिक बर्षमा निर्धारण गरेको राजश्व लक्ष्य अनुरुप उठाउन नसक्दा असफल भएका हुन ।

गत आर्थिक वर्षमा लक्ष्यको आधा भन्दा पनि कम राजश्व उठेको छ । देशकै ठूलो आर्थिक कारोबार हुने महानगरपालिकाले जम्मा ४१ प्रतिशत मात्र राजश्व उठाएको छ ।

लक्ष्यको ५० प्रतिशत पनि राजस्व उठाउन नसक्नुले महानगरपालिकाका मेयर देखि त्यहाँ कार्यरत कर्मचारीतन्त्रको सुस्तता र राजश्व प्रणालीमा भएको समस्यालाई लिन सकिन्छ ।

गत आथिर्क वर्षमा महानगरपालिकाले ५ अर्ब ३९ करोड आन्तरिक आय लक्ष्य राखेकोमा २ अर्ब २४ करोड अर्थात ४१.६३ प्रतिशत मात्रै उठाउन सक्यो । बजेटमा महत्वकांक्षी राजश्वको लक्ष्य निर्धारण गरेको महानगरले त्यसअनुसार असुलीका लागि भने कुनै योजना र रणनीति बनाएन । फलस्वरुप राजस्वको उठ्ती प्रभावित भयो ।

गत वर्ष राजश्वले लक्ष्यको आधार हिस्सा नभेटाए पनि आर्थिक वर्ष ०७३र७४ भन्दा गत आर्थिक वर्षमा महानगरपालिकाले १२५ प्रतिशत बढी राजस्व संकलन गरेको राजश्व विभागका प्रमुख राज्यप्रकाश प्रधानांगले जानकारी दिए ।

०७३र७४ मा १ अर्ब ७९ करोड राजस्व उठाएको महानगरले गत आर्थिक वर्षमा त्यो भन्दा ४५ करोड बढी राजस्व संकलन गर्‍यो ।

महानगरपालिकाले महत्वपूर्ण राजस्व शीर्षकमा ५० प्रतिशतको हाराहारीमा मात्रै राजस्व उठान सक्यो ।

महानगरपालिकाले घरजग्गा तथा सम्पत्ति कर शीर्षकमा सबभन्दा बढी ५७ करोड ५९ लाख राजस्व संकलन गरेको छ ।

घरबहाल करबाट ५६ करोड ३५ लाख राजस्व संकलन गरेको महानगरपालिकाले व्यवसाय कर शीर्षकमा १० करोड ५९ लाख, सवारी करबाट ३ करोड १० लाख, मालपोतबाट १ करोड १० लाख, विज्ञापन करबाट १० करोड ९४ लाख राजस्व आर्जन गरेको छ ।

कुन शीर्षकमा कति उठ्यो

काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा शुल्क, दस्तुर र जरिवाना गरेर ८४ करोड २५ लाख ४० हजार ८ सय ६१ रुपैयाँ राजस्व संकलन गर्‍यो ।

नक्सा पास दस्तुरबाट मात्रै ३१ करोड ९५ लाख उठाउँदा पर्यटन शुल्क दस्तुरबाट १७ करोड ३५ लाख, सिफारिस दस्तुरबाट ८ करोड ७७ लाख अम्दानी गरेको छ ।

महानगरपालिकाले गत आर्थिक वर्षमा राष्ट्रिय सभागृह भाडामा दिएर १ करोड २३ लाख कमाएको छ ।

यस्तै रत्नपार्क प्रवेश शुल्कबाट १ करोड २७ लाख, बसपार्क प्रवेश शुल्कबाट ४ लाख ४० हजार राजस्व संकलन गरेको छ ।

२०७५ भदौ २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्