News Portal

निर्मला हत्या : प्रहरीको गम्भीर लापरवाही भएको खुलासा , दोषी पत्ता नलगाई काठमाडौं फर्किंदै छानविन टोली

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५८१ पटक
काठमाडौं

भदौ २२, कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे छानविन गर्न गठिन उच्च स्तरीय छानबीन टोली अधुरो प्रतिवेदन बोकेर काठमाडौं फर्किदैंछ । १५ दिनभित्र छानविन प्रतिवेदन बुझाइसक्नुपर्ने समय सीमा पाएको गृह मन्त्रालयका उपसचिव हरिप्रसाद मैनाली संयोजत्कत्वको टोलीले भदौ ८ गतेदेखि छानबीन थालेको थियो । तर, समितिले अपूरो प्रतिवेदन लिएर शनिवार काठमाडौं  फर्किने तयारी गरेको छ  ।

आज  महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक मैनालीले कञ्चनपुर घटनामा मुछिएका प्रहरी अधिकारी सबै केन्द्रमा तानिएका हुँदा उनीहरूसँग पनि सोधपुछ गर्न बाँकी रहेकाले सोधपुछ गरेर प्रतिवेदनलाई अन्तिम रुप दिने बताए ।

‘घटनामा  तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट, प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक यकिन्द्र खड्कालगायत प्रहरी अधिकारीहरू केन्द्रमै तानिएका छन् । उनीहरूसँग सोधपुछ गरेर मात्रै प्रतिवेदनलाई अन्तिम रुप दिन्छौं,’ संयोजक मैनालीले भने । अझै ३–४ दिन प्रतिवेदन लेखनमा समय लाग्ने बताउँदै संयोजक मैनालीले त्यसपछि मात्रै सरकारलाई प्रतिवेदन बुझाउने जानकारी दिए ।

राष्ट्रिय मानवअधिकार आयोगको जस्तै उच्च स्तरीय छानबीन टोलीले पनि घटनाको अनुसन्धानमा प्रहरीको चरम लापरवाही गरेको ठहर गरेको छ । ‘हामीले १५ दिनसम्ममा सबै पक्षसँग बस्यौ । उनीहरूको विवरण लियौ । आन्दोलन किन भयो ? प्रहरीले बल किन प्रयोग गर्यो ? लगायत विषयवस्तुमा रहेर छानबीन गर्यौं,’ उनले अगाडि थपे, ‘वास्तवमा प्रहरीले घटनाको प्रारम्भिक चरणमा गम्भीर लापरवाही गरेकै हो । प्रहरीले भदौ ८ गते गोली चलाउनुपर्ने कुनै आवश्यकता नै थिएन । प्रहरीले आत्तिएर गोली चलाएको हो । अन्ततः प्रहरीको गोली लागेर शनि खुनाले ज्यान गुमाए ।’

घटनालाई उत्तेजित पार्नुमा सामाजिक सञ्जाल प्रयोगकर्ताको पनि ठूलो हात रहेको समितिको ठहर छ । घटनाबारे आएको विभिन्न अनर्गल, भ्रामक र उत्तेजित पार्ने सामग्रीले पनि उत्तेजना फैलिएको समितिको भनाई छ । प्रहरीले अझै अनुसन्धान जारी राखेको बताउँदै संयोजक मैनालीले अपराधी पत्ता लगाउने अन्तिम तथा मुख्य जिम्मेवारी पनि प्रहरीकै रहेको उल्लेख गरे । तर, न्याय पाउने कुरामा कुनै आशंका गर्ने ठाउँ नभएको उनको भनाई छ ।

 

२०७५ भदौ २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्