
काठमाडौं – गोर्खाबाट काठमाडौं फर्किने क्रममा धादिङमा दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकोप्टरमा सात जना सवार रहेको खुलेको छ । धादिङको सत्यवती गाउँपालिकास्थित मेघाङको वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको खबर आएको जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी प्रमुख डम्बरबहादुर बिकले जानकारी दिए । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो ।
स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् । जापानी नागरिक कोमात्सुको पासपोर्ट नम्बर TK 713612068 हो ।
उनीहरुको अवस्था कस्तो छ भन्ने खुलिसकेको छैन । अल्टिच्युड एयरका सिताराम सापकोटाले भने, ‘हामी घटनास्थल पुगिसकेका छैनौं । कसको अवस्था कस्तो छ अझै भन्न सकिने अवस्था छैन ।’
गोरखाबाट काठमाडौंको लागि छुटेको हेलिकप्टर सम्पर्कविहीन
२०७५ भदौ २३ गते प्रकाशित
