
भदौ १, काठमाडौं –शिक्षक सेवा आयोगले विद्यालय तहमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न आह्वान गरेको १२ हजार सात सय ३९ शिक्षक पदमा दुई लाख ८० हजार आवेदन परेका छन्। खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न आह्वान भएको परीक्षामा यति ठूलो संख्यामा प्रतियोगी सहभागी हुन खोज्नुले शिक्षामा शैक्षिक बेरोजगारीको दर उच्च रहेको संकेत गर्छ। आयोगले गत जेठमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि क्रमशः ९ हजार ९ सय ९६, एक हजार ६ सय ३५ र १ हजार १ सय आठ दरबन्दीमा शिक्षक छनोट गर्न आवेदन मागेको थियो।
दरबन्दीमध्ये प्राथमिक तहका लागि एक लाख ६० हजार आवेदन परेको आयोगका प्रशासकीय अधिकृत सहसचिव डा. तुलसीप्रसाद थपलियाले जानकारी दिए। निमावि तहका लागि ८० हजार र माविका लागि ४० हजार आवेदन परेको छ। उपत्यकाबाहिरका जिल्लाबाट संकलन गरेर केन्द्रमा आएका आवेदकको फारम र अन्य आवश्यक कागजात रुजु गर्ने काम भइरहेको उनले बताए। एक जनाले तीनै तहमा परीक्षा फारम भरेका कारण पनि आवेदकको संख्या बढेको हुन सक्ने आयोगको अनुमान छ। ‘जे भए पनि शिक्षामा बेरोजगार दर उच्च रहेको यो गतिलो प्रमाण हो’, थपलियाले भने। तीनै तहका शिक्षकको परीक्षा असोज ११, १२ र १३ गते सञ्चालन हुँदै छ। अन्नपुर्णपोस्टबाट
२०७५ भदौ १ गते प्रकाशित
