News Portal

फुजेलकाण्डका आरोपी १२ जनालाई सफाइ दिएपछि गंगामाया असन्तुष्ट : आजै देखि अनशन बस्ने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४७८ पटक
काठमाडौं

भदौ २५, काठमाडौँ – कृष्णप्रसादकी आमा गंगामाया अधिकारीले आफूलाई राज्य र मानवअधिकारवादीले ठगेको आरोप लगाएकी छिन् । उनले भनिन्, ‘अब म आजै देखि अनशन बस्छु । राज्य र मानवअधिकारवादीले मलाई ठगे । यो देशमा न्याय पाइँदैन ।’

उनले आफू बाँच्नुको अर्थ नरहेको बताएकी छिन् । ‘अब मैले बाँच्नुको केही अर्थ रहेन । बरु मलाई अवरोधबिना मर्न दिए हुन्छ । मैले न्याय माग गरेकी थिएँ तर मलाई सरकार र अधिकारवादीले सधैं झुक्याइरहे’, जिल्ला अदालत चितवनले आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त छविलाल पौडेल सहितका १२ जनालाई सफाइ दिएपछि गंगामायाले आइतबार साँझ भनिन् ।

खुट्टा राम्ररी चलाउन नसक्ने गरी कमजोर भएकी ५७ वर्षीया गंगामाया छोराका हत्याका अभियुक्तलाई अदालतले सफाइ दिएपछि झनै शिथिल भएकी छिन् । उनले अब आफू कसैसँग बोल्दा पनि नबोल्ने बताइन् ।

उनले अघिल्लोपटक गलत आश्वासनमा परेर अनशन तोड्ने अवस्थामा पुगेको बताइन् । ‘मेरा छोराका हत्यारालाई आज अदालतले सबैलाई सफाइ दिएको सुनें । अब म केका लागि बाँच्नु ? बाँच्दिनँ,’ गंगामायाले भनिन् ।

कृष्णप्रसाद हत्याका आरोपित मध्येका एक छविलाल पौडेल लगायतका आरोपितलाई पक्राउ गर्ने र कारबाही प्रक्रिया अघि बढाउने सर्तमा गंगामायाले पछिल्लोपटक अनशन तोडेकी थिइन् । ‘अब त संघर्ष गर्नुको पनि केही अर्थ रहेन । अबका मेरा कदम न्यायप्रतिको संघर्ष हुने छैन । अब यिनले के न्याय देलान् र ? मेरो मृत्यु पनि मेरो पतिको जस्तै दयनीय हुनेछ,’ उनले भनिन् ।
नागरिकबाट

२०७५ भदौ २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्