News Portal

छोरा कमाउ धन्दामा लाग्दा गंगामायाको विजोग, यसकारण सफाई पाए कृष्णप्रसाद अधिकारीका हत्याराले

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
९७१ पटक
काठमाडौं

काठमाडौं – गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डमा संलग्नहरुले राहत पाएका छन् । कृष्णप्रसादको हत्या भएको भनी किटानी जाहेरी दिने उनका दाजु अर्थात गंगामायाका जेठा छोरा नुरप्रसाद अधिकारी चितवन अदालतमा वयान दिन नगएपछि हत्याराले उन्मुक्ति पाएका हुन ।

आमा गंगामायाको अनसन तोडाउने क्रममा सरकारले हत्या आरोपी छविलाल पौडेललाई पक्राउ गरी अदालतमा बुझाएको थियो । पौडेल सोमबार जेलमुक्त भएका छन् ।

आइतवार चितवन जिल्ला अदालतले पौडेलसहित १२ अभियुक्तलाई सफाइ दियो । सफाइ पाएको भोलिपल्ट पौडेल डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

सरकारी साक्षीका रुपमा नुरप्रसादलाई आमा गंगामायासहित अधिकारकर्मीहरु सुबोध प्याकुरेल, कनकमणि दीक्षित लगायतले साक्षी बकपत्रका लागि अदालत गइदिन पटक पटक आग्रह गर्दा पनि उनले अश्वीकार गरेका थिए ।

जसले जाहेरी दियो र जो सरकारी साक्षी हो, उही अदालतमा उपस्थित नभएपछि मुद्दा कमजोर भएको महान्यायाधिवक्ता अग्नि खरेलले बताए ।

महान्यायाधिवक्ता खरेलले दीक्षित, प्याकुरेल लगायतसँग पहल गरेर प्रहरीमार्फत नुरप्रसादलाई आमासँग भेटाएका थिए । नुरप्रसाद बाबु नन्दप्रसादको अनसनकै बेलादेखि फरार भएका थिए । उनले त्यो बेला सरकारसँग सम्झौता गर्न नमानेकै कारण नन्दप्रसादको अनसनमै ज्यान गएको एक अधिकारकर्मीले बताए ।

कुरो अर्कै

नुरप्रसादले २ वर्षअघि बाबु र आमालाई अनसन राखेर सरकारसँग ५ करोड रुपैयाँ बार्गेनिङ गरेका थिए । केपी ओली नेतृत्वको सरकार गठनपछि गंगामायाको अनसन तोडाउने क्रममा एक करोड रुपैयाँ उपलव्ध गराइसकेको छ । सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेपछि नुरप्रसाद नाटकीयरुपमा प्रहरी मार्फत आमासमक्ष प्रकट भएका थिए ।

आमा र उनलाई साथ दिइरहेका अधिकारकर्मीले भनेको समेत नुरप्रसादले नमानेपछि उनको नियत राम्रो नदेखिएको सरकारी वकिलको ठम्याइ छ । जसलाई साक्षी राख्यो, जसले जाहेरी दियो, उसैले वयान नदिएपछि मुद्दा कमजोर भएको उनीहरुको भनाइ छ ।

आमाबाबुलाई अनसन राखेर दाजुको मुद्दा देखाउँदै पैसा कमाउने नियत नुरप्रसादमा शुरुमै प्रकट भएकाले आफूहरु पन्छिएका अर्का मानवअधिकारवादीले बताए । आमालाई अनसन राखेर मुद्दा आफ्नो पक्षमा फैसला हुँदैन भन्ने बुझेका नुरप्रसादको नियत दाजुको हत्यारालाई कारवाही गराउने भन्दा पनि पैसा कमाउन केन्दीत देखिएको उनले बताए ।

नुरप्रसादले प्रचण्ड र बाबुराम भट्टराईलाई जेल नहालेसम्म अरु मुद्दाको प्रक्रिया नाटकमात्र हो भन्दै सरकारलाई असहयोग गरेको मानवअधिकारकर्मीहरुको गुनासो छ । अदालतमा दाजुका हत्यारा विरुद्ध साक्षी बकपत्र दिन नगएका नुरप्रसादले फेसबुकबाट चितवन जिल्ला अदालतको फैसलासँगै अब प्रचण्ड र बाबुरामविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा जाने बाटो खुलेको टिप्पणी गरेका छन् ।

२०७५ भदौ २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्