News Portal

प्रधानमन्त्री ओलीले सिलिन्डर युगको अन्त्य भएको घोषणा गर्दै उद्घाटन गरेको ‘गोबर ग्यास’ महिना दिन नपुग्दै बन्द

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
९७७ पटक
काठमाडौं

काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले भदौ ५ गते विराटनगरमा गोबर ग्यास उद्घाटन  गरेको महिना दिन नपुग्दै बन्द भएको छ।  चाडवाडको मुखमा प्लान्ट बन्द भएपछि ‘फालेका’ सिलिन्डर स्थानीयले भान्सामा ल्याउनु थाकेका छन् ।

ओलीले पाइपमार्फत् घर-घरमा ग्यास बलेको र अब  ‘सिलिन्डर युगको अन्त्य भएको’ घोषणा पनि गरेका थिए। प्रधानमन्त्री ओलीको घोषणा उल्टिन धेरै दिन कुर्नु परेन। घरमा पुगेको पाइपमा महिना दिन नपुग्दै ग्यास आउन छोडेको छ।

ओलीसहित ऊर्जा मन्त्री वर्षमान पुन, कानुन मन्त्री भानुभक्त ढकाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संयुक्त रुपममा उद्घाटन गरेको गोबर ग्यास प्लान्ट २० दिनमै बन्द भएको हो।

विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनबाट उत्पादन थालिएको गोबर ग्यास महिना नपुग्दै थान्को लागेपछि प्राविधिकहरू मर्मतमा जुटेका छन्। प्लान्टका प्रमुख इन्जिनियर ज्ञानेन्द्र सिंहका अनुसार एक सातादेखि प्लान्ट बन्द भएको बताए । ग्यास उत्पादन गर्ने ‘मेम्ब्रेम’मा समस्यालगायत कारण प्लान्ट बन्द भएको हो। सिंहले ‘मेम्ब्रेम’ बिग्रिएको नभएर जाम भएकाले खोलेर सफा गरिरहेको बताए।

अघिल्लोपटक प्रधानमन्त्री हुँदा भारतले नाकाबन्दी लगाएपछि ओलीले ‘पाइपबाट घर–घरमा ग्यास पुर्‍याउने’ महत्वकांक्षी योजना सुनाएका थिए। त्यसो भन्दा उनी आफैं आलोचित बनेका थिए। दोस्रोपटक प्रधानमन्त्री हुँदा विराटनगरमा जमिनमुनिबाट गोबर ग्यासको पाइप घर-घरमा जोडिएपछि ओली हौसिँदै मन्त्रीहरू नै लिएर उद्घाटन गर्न पुगेका थिए।

 

२०७५ भदौ २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्