News Portal

लिवाङ नगर अध्यक्ष पुनको हत्यारालाई कारबाही गर्न माग गर्दै बाह्रबिसेमा बृहत् सभा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५५८ पटक
काठमाडौं

काठमाडौं । नेपाल तरुण दलका लिवाङ नगर अध्यक्ष रोहित पुनको हत्यारालाई कारबाही गर्न माग गर्दै नेपाली कांग्रेसले बाह्रबिसेमा विरोध सभा गरेको छ ।

नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय समितिले आयोजना गरेको विरोध सभामा हत्या हिंसा आतंक बन्द गर, शान्ति सुरक्षा कायम गर भन्दै विरोध ¥याली बाह्रबिसे नगरपालिकाको कार्यालयबाट सुरु भई बजार परिक्रमा गरेर नगरपालिका नजिकै आएर कोणसभामा परिणत भएको थियो ।
विरोधसभालाई क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले सम्बोधन गरेका थिए । उनले यसरी नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामाथि नियोजित तबरले आक्रमण जारी रहे त्यसको सशक्त प्रतिकार गर्ने उद्घोष गरे । उनले भने, ‘नेकपाकै सक्रिय कार्यकर्ता देव घर्तीको समुहले रोहित पुनलाई दिनदहाडै गोली प्रहार गरी हत्या गर्दा पनि सरकार कारबाही गर्न आनाकानी गर्दैछ यसले धेरै खालको शंका उत्पन्न गराएको छ । ’

कोणसभामा बोल्दै नेपाली कांग्रेसका युवा नेता युधीर पौडेलले पछिल्लो समय सत्तामा रहेका दलका कार्यकर्ता खुल्लमखुल्ला रुपमा हतियार बोकेर हिड्दासमेत प्रशासन निरीह रहेको बताए । उनले भने, ‘नेपाली कांग्रेस तथा यसका भातृसंगठनका नेता कार्यकतामाथि यसरी खुलेआम गोली हानी हत्या हुँदा पनि प्रशासनले कुनै ठोस कारबाही गरेको छैन, अब पनि यस्तै रवैया रहिरहने हो भने हामी आफैं अघि सर्न बाध्य हुनेछौं । ’ पछिल्लो समय विरोध सभामा नेविसंघ नेता नवीन श्रेष्ठ र तरुण नेता फापाङ तामाङले नगर अध्यक्ष पुनको हत्या गर्ने समुहलाई तुरुन्तै पक्राउ गरी कारबाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए ।

२०७५ भदौ २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्