News Portal

निर्मला हत्या प्रकरण : डिआइजी धिरु बस्नेतको संयोजकत्वमा नयाँ छानबिन समिति गठन

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३८४७ पटक
काठमाडौं

भदौ ३१, काठमाडौँ- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि  केही दिनअघिमात्र एआइजीमा बढुवा सिफारिस भएका डिआइजी धिरु बस्नेतको संयोजकत्वमा प्रहरी प्रधान कार्यालयले नयाँ  छानबिन  समिति गठन गरेको  छ। यसअघि भदौ १४ गते एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाए पनि परिवर्तित अवस्थामा समितिलाई अपग्रेड गरिएको नेपाल प्रहरीका  शैलेश थापाले जानकारी दिए ।

डिएनए परीक्षणका क्रममा प्रहरीले उभ्याएको अभियुक्त फर्जी भएको प्रमाणित भएको भन्दै गृह मन्त्रालयले निर्मला हत्या प्रकरणको अनुसन्धान गर्न कञ्चनपुर गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जिसीसहित  ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक जगदिश भट्ट, एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको थियो ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट निलम्बित भइसकेका छन् ।  ‘निर्मलाको हत्याकाण्डमा प्रहरीको कमजोरी स्पष्ट भइसकेको छ, अब बनेको नयाँ छानबिनले  समितिले कोको दोषी छन् भन्ने पत्ता लगाएर कारबाहीका लागि सिफारिस गर्छ,’ प्रवक्ता एसएसपी थापाले  भने।

अनुसन्धानलाई अझ तीव्र र गहन बनाउन डिआइजी बस्नेतको संयोजकत्वमा नौ सदस्यीय समिति प्रहरी प्रधान कार्यालयले बनाएको हो। यसमा एसएसपी निरज शाही पनि छन्। यो समितिले निलम्बनमा परेका प्रहरी अधिकारीहरुलाई काठमाडौँ झिकाएर बयान लिने र अनुसन्धान गर्ने काम सुरु गरेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए।

 

२०७५ भदौ ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्