News Portal

अर्बुद रोग उत्कृष्ट पत्रकारिता पदकबाट पत्रकार बराइली सम्मानित

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४४५ पटक
काठमाडौं

काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्थाले यो वर्षको उत्कृष्ट पत्रकारिता पदक नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीलाई प्रदान गरेको छ ।
सो संस्थाको ३६ औं बार्षिकोत्सवको अवसर पारेर केन्द्रिय सदस्य बराइलीलाई उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (इश्वर) ले अर्बुद रोग उत्कृष्ट पत्रकारिता पदकबाट सम्मान गरे । बराइली निशान न्युज डटकमका सम्पादक हुन् ।
संस्थाले २०६७ देखि अर्बुद रोग उत्कृष्ट पत्रकारिता पदक प्रदान गर्दै आएको छ । यसअघि पदमराज जोशी, दानदास श्रेष्ठ, इश्वरकाजी खाइजु, अतुल मिश्र, नारायण किलम्बु, उद्धपराज भेटवाल र सन्तोषी अधिकारीलाई प्रदान गरेको थियो ।
त्यसैगरी सो संस्थाको ३६ औं बार्षिकोत्सवको अवसरमा सानु छोरी शाक्य स्मृति क्यान्सर सेवा पदकबाट रोहाणी वैद्य र डा. पुलस्वा जोशी लाखेलाई प्रदान गरेको छ । यो कर्ण शाक्यले क्यान्सर रोगबाट मृत्यु भएकी श्रीमति र छोरीको नामबाट २०५८ मा स्थापना गरेको पदक हो ।
त्यसैगरी दुर्गाबहादुर श्रेष्ठ स्मृति उत्कृष्ट शाखा सभापति पदक सो संस्थाका कास्की सभापति रामचन्द्र थापाले पाए । यो पुरस्कार संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (इश्वर) ले स्व. पिता दुर्गाबहादुर श्रेष्ठको स्मृतिमा २०५८ मा स्थापना गरेका थिए ।

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पछिल्लो समयमा क्यान्सर लगायतका नसर्ने रोगको प्रकोप बढ्दै गएकाले यसको रोकथामका लागि सरकार सचेत रहेको बताए ।
उपप्रधानमन्त्री यादवले नेपालमै क्यान्सर रोग विशेषज्ञ उत्पादन हुन थालेकाले उपचारका लागि अब महंगो खर्च तिरेर विदेश जानुपर्ने बाध्यता हट्दै गएको बताए ।
संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (इश्वर) ले अहिले विदेशबाट समेत क्यान्सर रोगको उपचार गर्न भक्तपुर क्यान्र अस्पताल आउने गरेकाले भक्तपुर क्यान्सर अस्पताललाई सुविधासम्पन्न बनाउने प्रयास भइरहेको बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भक्तपुर क्यान्सर अस्पताललाई भाभाटोन मेसिन उपलब्ध गराउने प्रतिवद्धता जनाए पनि सोमेसिन राख्ने बङ्करको अभाव भएकाले त्यसको व्यवस्थापन गरिदिन आग्रह गरे ।

२०७५ असोज १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्