News Portal

निगमलाई पछिल्लो १५ दिनमा २५ करोड रुपैयाँ घाटा, केहि दिनमै पेट्रोलियम पदार्थको मूल्य बढ्ने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३४२ पटक
काठमाडौं

भदौ २, काठमाडौं – नेपाल आयल निगमलाई पछिल्लो १५ दिनमा २५ करोड रुपैयाँ घाटा भएको छ । डलरको मूल्यवृद्धि भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको मूल्य बढेकाले निगमलाई १५ दिनमा २५ करोड रुपैयाँ घाटा भएको हो ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले बिहीबार पठाएको मूल्यसूची अनुसार डिजेल र पेट्रोलको मूल्य बढेर आएकाले निगमको घाटा बढेको हो । आईओसीले पठाएको मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ६० पैसा र डिजेलमा ७५ पैसा भारतीय रुपैयाँ बढेर आएको छ । मूल्य बढेर आएकाले निगमलाई डिजेलमा प्रतिलिटर २ रुपैयाँ ३६ पैसा र पेट्रोलमा प्रतिलिटर १६ पैसा घाटा भएको छ ।

यसअघि पेट्रोलमा ८७ पैसा नाफा र डिजेलमा १ रुपैयाँ १४ पैसा घाटा थियो । निगमका प्रवक्ता वीरेन्द्र गोइतले मूल्य बढेर आएकाले निगमको १५ दिनमा घाटा बढेर २५ करोड रुपैयाँ पुगेको बताए । निगमको घाटा बढ्दै गएकाले पनि एक दुई दिनमा इन्धनको मूल्य समायोजन गरिने उनले जानकारी दिए ।

निगमलाई हवाई इन्धन र मट्टितेलमा नाफा भए पनि डिजेल, पेट्रोल र ग्यासमा घाटा छ । निगमलाई सबैभन्दा धेरै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ घाटा छ । निगमलाई ग्यासमा मात्र महिनामा ६७ करोड रुपैयाँ घाटा छ । हवाई इन्धन र मट्टितेलमा भएको नाफाले निगमले ग्यासको घाटा व्यवस्थापन गर्दै आएको छ । आइओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ ।
कारोबारबाट

२०७५ भदौ २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्