News Portal

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा संविधान दिवसको शुभकामना

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२४९ पटक
काठमाडौं

असोज ३, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताएका छन्  ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै उनले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरे  ।

सन्देशमा राष्ट्रपति भण्डारीलेभनिन्, “सामाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात् गर्दै सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता हो भन्ने मलाई लागेको छ ।”

संविधान जारी भएको आजको दिनले सबैलाई संवैधानिक मूल्य एवं मान्यताहरू कार्यान्वयन गर्न प्रेरणासहित अठोट जागृत गर्न सफलता प्राप्त हुने अपेक्षासमेत राष्ट्रपति भण्डारीले व्यक्त गरे  ।

राष्ट्रपति भण्डारीले संविधान दिवसका अवसरमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव र सहकार्य कायम हुन सकोस् भन्ने कामनासमेत गरे।

नेपालको संविधान जारी भएपश्चात् संवैधानिक प्रावधानको मर्म र भावनाबमोजिम स्थानीय तह र प्रदेश एवं सङ्घीय संसद्को निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै उहाँले बहुलवाद र बालिग मताधिकारका आधारमा भएको निर्वाचनबाट जननिर्वाचित संस्था गठन भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सृदृढ तुल्याउन महत्वपूर्ण योगदान पुगेको उल्लेख गरे  ।

नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र दृढ सङ्कल्पबाट प्राप्त ऐतिहासिक उपलब्धिको जगेर्ना गर्दै राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र देशविदेशमा रहनुभएका नेपालीलाई राष्ट्रपतिले आह्वान गरेका छन्  ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।

संविधान दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा ज्यान गुमाउनुभएका शहीदप्रति हादिक श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकलाई विधिको शासनमा बाँध्न अतुलनीय योगदान गर्नुहुने सम्पूर्ण देशवासीप्रति हार्दिक आदर व्यक्त गरेका छन्  ।

प्रधानमन्त्रीले सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण गरिएको नयाँ संविधानले नेपाली जनताको आकाङ्क्षा र आशा मात्रै होइन मान्यता र सिद्धान्तलाई समेत समेटेको उल्लेख गरे  । “असोज ३ गते संविधान जारी भएको दिन, आधुनिक नेपालको इतिहासको अन्त्यन्त महत्वपूर्ण दिन हो,” उहाँले सन्देशमा भन्नुभएको छ, “त्यसैले उल्लासमय वातावरणमा देशभरि नै आज भव्यरुपमा राष्ट्रिय दिवस मनाउँछौँ ।”

प्रधानमन्त्रीले संविधानले सबै नागरिकलाई बिना भेदभाव मौलिक हक र स्वतन्त्रता सुननिश्चित गरेको बताउँदै संविधानले हरेक नेपालीको मर्यादालाई स्वीकार गरेको उल्लेख गरे  ।

संविधानले ३५ भाग, ३०८ धारा र नौ अनुसूचीमा लिपिबद्ध मानवीय एवं लोकतान्त्रिक राजनीतिको मौलिक, आधुनिक र प्रगतिशील पक्षहरुलाई अङ्गीकार गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा नेपालको संविधान, नेपाली कानूनको स्रोत, दस्तावेज मात्रै नभएर सारा नेपालीको सामूहिक चाहना समेटिएको साझा दस्तावेज भएको बताए  ।

संविधानमार्फत संवैधानिक सर्वोच्चतासहितको प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली स्थापना गरिएको बताउँदै उहाँले सन्देशमा आवधिक निर्वाचन, मानवधिकार, कानूनी राज, नियन्त्रण र सन्तुलनसहितको शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिको व्यवस्था गरिएको छ भनेका छन्  ।

उनले सन्देशमा भन्नुभएको छ, “सुदृढ लोकतन्त्रमा प्रयोगमा आएका लोकतन्त्रका विश्वव्यापी सबै अवयवलाई हामीले वैधानिक रुपमा नै यस संविधानमा संस्थागत गरेका छौँ, त्यसैले यो संविधान हामी नेपालीलाई सार्वभौमसत्ता सम्पन्न बनाउने सबैभन्दा प्रगतिशील दस्तावेज हो । यही संविधानले गरेका परिकल्पनाको आलोकमा यो सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न प्रतिबद्ध छ ।”

समृद्धिको लक्ष्य हासिल गर्न शुरु भएको यात्रालाई गन्तव्यमा पु¥याउन संविधानको ३१ वटा धारामा उल्लिखित मौलिक हकलाई कार्यान्वन गर्न आवश्यक कानूनी प्रबन्ध सरकारले गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले यसको कार्यान्वयनसँगै नेपाली जनताको सम्मानित तथा मर्यादित जीवन जीउने अभिलाषा पूरा हुने स्पष्ट पार्नुभएको छ ।

“मलाई विश्वास छ, हाम्रो संविधानले नेपाललाई बलियो, समृद्ध र मर्यादित राष्ट्रमा रुपान्तरित गर्नेछ । राष्ट्रियताको रक्षा र छिमेकीसँगको सम्बन्धलाई सुमधुर बनाउनेछ । विश्वका सबै मुलुकसँग हार्दिक सम्बन्ध विस्तार गर्नेछ । नेपालीले सबै मुलुकसँग विकासमा साझेदारी र अन्तर्राष्ट्रिय मामिलामा सकारात्मक तथा सिर्जनात्मक भूमिका खेल्नेछ”, प्रधानमन्त्रीले सन्देशमा भनेका छन्  ।

२०७५ असोज ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्