News Portal

प्रदेश सरकारले यसरी झाल्कायो राष्ट्रियता, संविधान दिवसको दिन झण्डा अंकित ढाका टोपी वितरण

लखन चौधरी काठमाडौं
२९३ पटक
काठमाडौं

असोज ३, धनगढी– ७ नम्बर प्रदेश सरकारले विविध कार्यक्रम गरी बुधवार संविधान दिवस मनाएको छ ।

दिवसका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट बाजागाजा र झाँकीसहितको र्‍याली धनगढी रंगशाला पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले संविधान जारी भएपछि जुन रुपमा जनताका चाहना र आंकाक्षा बढेका छन् त्यो अनुसार काम गर्ने नसकिएको स्वीकार गरे ।

संविधान जारी भएसँगै देश नयाँ संघीय संरचनामा प्रवेश गरी तीनै तहका सरकार निर्माण भएपनि कानून निर्माणको अभावमा सन्तोषजनक काम नभएको उनले बताए । मुलुकमा संघ र स्थानीय तह पुरानै व्यवस्था भएपनि प्रदेश सरकार नेपालका लागि नयाँ अभ्यास भएका कारण प्रदेश सरकार सही बाटोमा आउन अझै केही समय लाग्ने बताए ।

सभालाई सम्बोधन गदै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सविधान दिवसका अवसरमा सबैलाई शुभाकमना दिएका छन् । उनले नेपाली जनताको लामो त्याग र बलिदानबाट सबैको अधिकारलाई सुनिश्चित गर्ने संविधान जारी भएका कारण सबैले यसको कार्यान्यनमा जोड दिनुपर्ने बताए । उनले ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिको हस्ताक्षरमा संविधान सभाले बनाएको नेपालको संविधान २०७२ विश्वकै उत्कृट संविधान भएको दाबी गरे ।

प्रदेश सरकारले मन्त्री, सांसद, कर्मचारीलाई प्रदेश नम्बर ७ लेखिएको राष्ट्रिय झण्डा अंकित ढाका टोपी बाँडेको छ । संविधान दिवसका अवसरमा बुधवारै प्रदेश प्रमुखले चियापानको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

संविधान दिवसको अवसरमा मंगलवार साँझ दीपावली गरिएको थियो । कार्यक्रममा प्रदेश प्रमुख मोहनराज मल्लसहित मुख्यमन्त्री त्रिलोचन भट्ट, ६ वटै मन्त्री, सांसद, प्रमुख सचिव, सचिव, धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वड र सुरक्षा अधिकारी लगायतको सहभागिता थियो ।

२०७५ असोज ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्