News Portal

दशैंको मुखैमा गाडी भाडा बृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघद्वारा चक्काजाम

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
११९१ पटक
काठमाडौं

असोज ८, काठमाडौं – दशैंको मुखैमा सार्वजनिक यातायातको भाडा बृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघले चक्काजाम गरेको छ। दशैंको मुखमा सिन्डिकेटलाई प्रोत्सहान गर्ने गरी सरकारले भाडा बृद्धि गरेको भन्दै देशभरका क्याम्पसअगाडि नेविसंघले सोमबार बिहान चक्काजाम गरेको हो।

बिहान ९ देखि १० बजेसम्म नेविसंघले गरेको चक्काजामका कारण राजधानीको सवारी प्रभावित समेत भएको छ । यातायात व्यवसायीले दसैँका लागि टिकट बिक्री खुल्ला नगर्ने अडान लिएपछि सरकारले सवारी साधनको भाडादर आइतबारबाट १० प्रतिशत वृद्धि गरेको छ।

हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार सरकार र यातायात व्यवसायीबीच भाडा बढाउन सहमति भएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा १० प्रतिशत वृद्धि गर्न सिफारिस गरेको थियो ।

यसअघि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण भाडा समायोजन हुन नसक्दा आफूहरु मारमा परेको भन्दै यातायात व्यवसायीहरुले भाडा वृद्धीको माग राखी आन्दोलन गरेका थिए । सोही कारण असोज ५ बाटै हुने भनिएको अग्रिम टिकट बुकिङ पनि रद्द भएको थियो ।

२०७५ असोज ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्