News Portal

के १५ गतेपछि लकडाउन खुल्ला ? यस्तो छ सरकारी तयारी

मोटिभेटन्यूज संवाददाता
२५० पटक

काठमाडौं – अहिले धेरैको चासोको विषय बनेको छ कलडाउन कहिले खुल्ला ? नेपालको सबैभन्दा बढी खुला सीमा क्षेत्र रहेको भारतमा कोरोना संक्रमण दिनदिनै बढ्दै गएपछि त्यसको प्रत्यक्ष असर नेपालमा परेको छ । भारतमा संक्रमण बढेसँगै नेपालमा लकडाउन बढ्ने निश्चित भएको छ ।

पछिल्लो समय सरकारले वैशाख १५ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेको थियो । सरकारले छिमेकी मुलुकहरुमा कोरोना भाइरसको जोखिमको अवस्था हेरेर लक डाउनका खोल्ने विषयमा निर्णय हुने बताएको छ ।

भारतमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार नाघेको छ । बिहीबार मात्रै भारतमा एक हजार ६६९ जनाभन्दा बढी संक्रमित भएका छन् । बिहीबार मात्रै ४० भन्दा बढीको ज्यान गएको छ । योसँगै मृत्यु हुनेको संख्या ७२१ जना पुगेको छ ।

त्यसैले विश्व कोरोना महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोमिख नेपालमा पनि रहेकाले लकडाउन खोल्ने निर्णय एकपक्षीय रुपमा गर्न नसकिने सरकारले बताएको हो । छिमेकी मुलुकहरुमा कोरोना नियन्त्रण र जोखिमको अवस्था हेरेर लकडाउन खोल्ने÷नखोल्ने विषयमा निर्णय हुने सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए ।

उनले भने, ‘‘छिमैकी मुलुकहरुमा यसको नियन्त्रणको अवस्था कस्तो छ । जोखिमको अवस्था नहेरी एकपक्षिय ढंगले निर्णय गर्ने अवस्था रहँदैन ।’’ लक डाउनको समयमा पनि खुला सीमानाका कारण लुकिछिपी नेपाल प्रवेश गर्ने गरेको पाइएको उनले बताए । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना भएको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले लुकिछिपी नेपाल आउनेहरुका कारण पनि नेपालमा कोरोना संक्रमणको जोखिम बढेको बताए ।

प्रवक्ता खतिवडाले छिमेकी मुलुकमा कोरोना रोकथामको प्रयास र नेपालमा स्वास्थ्य उपचारको पूर्वतयारी, स्वास्थ्य परीक्षणका विधिहरु, उपकरण तथा स्वास्थ्यकर्मी अवस्थालाई ध्यानमा राखेर लक डाउन खुल्ने बताए ।

नागरिकहरुमा कोरोनाप्रति चेतनाको विकास भएको कतिको भएको भन्ने कुराले पनि प्रभाव पार्ने उल्लेख गर्दै उनले जोखिममुक्त छौँ भन्ने भएपछि मात्रै खोल्ने निर्णय हुने बताए । प्रवक्ता खतिवडाले असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुलाई काममा आवद्ध गर्न आधारभूत उद्योग, विकास निर्माणका काम र केही सेवा क्षेत्रहरु खुला गर्ने तयारी सरकारले गरेको पनि उनले बताए ।

२०७७ बैशाख १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्