News Portal

कोरोनाबारेको नयाँ तथ्य फेला, यसरी पनि सर्नसक्छ कोरोना

मोटिभेटन्यूज संवाददाता
१५६ पटक

काठमाडौं – कोरोना भाइरस हावाको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा जानसक्छ भन्ने नयाँ तथ्य फेला परेको छ । यससंगै संक्रमित व्याक्तिले सास फेर्ने क्रममा बाहिर फाल्ने हावाबाट पनि संक्रमण फैलिन्छ भन्ने देखिएको छ ।

सास फेर्दा बाहिर निश्किने मसिना हावामा निकै मसिना पानीका कणहरु पनि मिसिएका हुन्छन् । अनुसन्धानकर्ताहरुले ती कणहरुमा भाइरसको आनुवंशिक गुण बोक्ने पदार्थ (डिएन वा आरएनए) मिसिएको पत्ता लगाएका हुन् ।

कोरोना भाइरसको आनुवंशिक गुण बोक्ने पदार्थ आरएनए हो । आरएनएकै माध्यमबाट कोरोना भाइरसले आफ्नो संख्यामा वृद्धि गर्छ र अर्को मानिसमा पनि संक्रमण फैलाउँछ ।

चीनको वुहान विश्वविद्यालयका के ल्यान र उनका सहकर्मीहरुको समूहले संक्रमितको उपचार भइरहेका २ अस्पतालमा एक अनुसन्धान गरेको छ । उक्त अनुसन्धानले अस्पताल क्षेत्रमा कोरोना भाइरसको उपस्थिती रहे नरहेको जाँच गरेको हो ।

यस क्रममा कोरोनाबाट संक्रमित बिरामीले प्रयोग गरेको शौचालयको हावामा कोरोना भाइरसको आरएनए फेला परेको छ । शौचालयसंगै भेन्टिलेटरमा रहेका बिरामीको वरपर अर्थात कक्षमा पनि आरएनए फेला परेको अनुसन्धानकर्ताहरले उल्लेख गरेका छन् ।

तर, डिसइन्फेक्सन गरिएको स्वास्थ्यकर्मीको कक्षामा भने भाइरस फेला परेन । भेन्टिलेटरमा राखिएको बिरामीको कक्षमा पनि निकै नै कम एवं पत्ता लगाउन कठिन अवस्थामा मात्रै आरएनए फेला परेको अनुसन्धानले देखाएको छ ।

संक्रमितले प्रयोग गरेको स्थानको हावामा भाइरस देखिएसंगै अनुसन्धानकर्ताहरुले निकै मसिना हावाका कणबाट एक अर्को स्थानसम्म भाइरस जान सक्ने र संक्रमण फैलाउन सक्ने निश्कर्ष निकालेका छन् ।

अनुसन्धानकर्ताहरुले संक्रमणबाट बच्न नियमित रुपमा डिस्इन्फेक्सन छर्कन र भेन्टिलेसनमा राखिएको बिरामीको भेन्टिलेटर पनि उचित रुपले व्यवस्थापन गर्न सुझाव दिएका छन् ।

२०७७ बैशाख १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्