News Portal

श्रमिकको जीवन कष्टकर भएकोमा दुःखी छु : प्रधानमन्त्री ओली

मोटिभेटन्यूज संवाददाता
११३ पटक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका कारण श्रमिकको जीवन कष्टकर भएकोमा आफू दुःखी रहेको बताएका छन् । उनले श्रमिकले भोग्नु परेको पीडाप्रति आफू संवेदनशील रहेको भन्दै भोकै नराख्ने बताएका छन् ।

अन्तर्राष्ट्यि श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकहरुका कष्टकर जीवनप्रति म अत्यन्तै दुःखी छु ।’

‘घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन । रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ । तपाईहरुको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ ।’

अहिले कोरोना भाइरसको महामारीका कारण ‘न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने’ चेपुवामा श्रमिकहरू रहेको भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यसबाट सिर्जना भएको पीडाप्रति म जानकार तथा संवेदनशील छु ।’

विश्वभरिका कोरोना प्रभावित २१० मुलुकमा जस्तै हाम्रो देश नेपालको पनि उत्पादन प्रणालीको कडी टुटेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हाम्रा सिर्जनशील हातहरु यतिखेर लकडाउनमा छन् । हाम्रो श्रमको प्रतिक्षामा रहेका उत्पादनका साधनहरु पनि लकडाउनमा छन् ।’

उनले अहिलेको लकडाउन विश्वव्यापी र बाध्यकारी भएको बताएका छन् । कोरोना भाइरसका कारणले यसलाई स्वीकार्नु पर्ने बाध्यता रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

यसले निर्माण, रोजगारी र उत्पादनमा पारेको प्रतिकूल प्रभावको अवस्थाले श्रमजीवी वर्गको बुझाइजस्तै श्रम र उत्पादनको सम्बन्ध एवं त्यसको महत्वलाई सबै वर्गले गम्भीरताका साथ बुझ्ने नयाँ परिस्थिति पनि निर्माण भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । श्रम आधारभूत कुरा हो र जीवन प्रमुख कुरा हो भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘श्रम बिनाको पूँजी र प्रविधि पनि अर्थहीन हुन्छ भन्ने आजको यथार्थले स्पष्ट पारेको छ ।’

उनले यस अप्ठ्यारो समयमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा ऐक्यबद्धता जाहेर गरेका छन् ।

२०७७ बैशाख १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्