News Portal

पाल्पाबाट चुनाव लड्दै बामदेव गौतम, ओली प्रचण्डबीच भयो गोप्य सहमति

मोटिभेटन्यूज संवाददाता
१४० पटक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहलबीच बामदेवलाई संसदमा लैजाने विषयमा गोप्य सहमति भएको छ । सत्तारुढ नेकपाका उपाध्यक्षसमेत रहेका बामदेव गौतमका लागि पाल्पा निर्वाचन क्षेत्र नम्बर १ खालि गराएर प्रतिनिधिसभामा लैजाने सहमति बनेपछि नेताहरुको भनाई छ ।

यो सहमतिसँगै नेकपाभित्रको समिकरण फेरिएको छ । नेकपाका अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा लागेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गठबन्धनमा सामेल भएका उपाध्यक्ष गौतम अन्तिम समयमा आएर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा पुगेका छन् ।

पाल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद दलबहादुर रानालाई राजिनामा गर्न लगाएर उक्त क्षेत्रबाट गौतमलाई निर्वाचित गराएर प्रतिनिधिसभामा लैजान महासचिव विष्णु पौडेलले तारतम्य मिलाएपछि गौतम प्रम ओलीको पक्षमा उभिएका हुन् ।

गएको वुधबार बसेको सचिवालय वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदत्याग गर्नुपरे कोभिड १९ महामारीपछि बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने गरी पदत्याग गर्ने प्रस्ताव गरेका थिए ।

त्यहाँदेखि नै गौतम, दाहाल–नेपाल गठबन्धनका वैठकमा सहभागि हुन छोडेका थिए । पाल्पा निर्वाचन क्षेत्र नम्वर १ बाट निर्वाचित साँसद दलबहादुर रानाले भने आफूले यसबारे सञ्चारमाध्यमसँग नबोल्ने प्रतिक्रिया दिए ।

“मेरो कोही नेताहरुसंग सम्पर्क नै भएको छैन, मलाई यस बारेमा केही जानकारी छैन, मसंग नसोध्नुस, अहिलेको परिस्थिति बारे नेताहरुलाई नै जानकारी होला” रानाले भने ।

२०७७ बैशाख २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्