News Portal

कोरोना निको भएका दुई जनामा किन देखियो कोरोनाको लक्षण ? यस्तो भन्छन विज्ञ

मोटिभेटन्यूज संवाददाता
१४७ पटक

वीरगञ्ज – कोरोना भाइरसको संक्रमणपछि निको भएर घर गएका दुई जनालाई पुन अस्पताल भर्ना गरिएको छ ।

एक रौतहटका युवक र एक भारतीय जमाती विरगन्जको नारायणी अस्पतालमा भर्ना भएका हुन् । स्वास्थ्यमा समस्या आएपछि दुवै पुनः अस्पताल भर्ना गरिएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।

शरीर दुख्ने, आलस्य हुने जस्ता समस्या देखिएपछि अस्पताल आएका दुवैलाई आइसोलेसनमा राखेर उपचार थालिएको छ । साथै थ्रोट स्वाब संकलन गरी कोरोना परीक्षण गर्न पठाइने अस्पतालले जनाएको छ । दुवैलाई अस्पतालले आइतबार डिस्चार्ज गरेको थियो ।

निको भइसकेकामा पुनः किन देखिइरहेको छ कोरोना ?

कोरोना भाइरस (कोभिड–१९) बाट निको भएका मानिसमा यो भाइरसविरुद्ध लड्नसक्ने रोग प्रतिरोधी क्षमता (एन्टिबडी) विकास हुने विश्वास गरिँदै आएको छ । यसको अर्थ एकपटक यो रोग लागेर निको भएका मानिसमा तत्कालको लागि पुनः यो रोगको संक्रमण हुँदैन ।

तर निको भइरसकेका मानिसमा किन देखिन्छ त कोरोना भाइरसको संक्रमण ? यो अहिले धेरैको चासोको विषय बन्न पुगेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) कि टेक्निकल लिड मारिया बैन केरखोब कोरोना भाइरसको मृत कोशिकाहरु अझै पनि अस्तित्वमा रहेकाले पुनः परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको हुनसक्ने बताउँछिन् । यसको अर्थ उनीहरूमा पुनः संक्रमण भयो भन्ने नहुने उनको भनाइ छ ।

निको भइसकेका मानिसको रोग प्रतिरोधी क्षमता कति बलियो हुन्छ भन्ने विषयमा अहिले वैज्ञानिकहरूले अध्ययन गरिरहेको उनले बताइन् ।

कोरोना भाइरस उत्पत्तिबारे अनेक विषय प्रकाशमा आइरहेका बेला उनले प्राकृतिक रूपमा कोरोना भाइरस निस्किएको जिकिर गरिन् । चमेराबाट मानिसमा कोरोना भाइरस उनको मत छ । यद्यपि, चमेराबाट मानिसमा यो भाइरस कसरी आयो ? भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन ।

बीबीसीको सहयोगमा

२०७७ बैशाख २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्