News Portal

महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध सांसद अपहरणबारे अनुसन्धान सुरु, पक्राउ गर्ने तयारी

मोटिभेटन्यूज संवाददाता
१०० पटक

काठमाडौं – सांसदलाई अपहरण गरेको अभियोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्धको अपहरण अनुसन्धान सुरु भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, बबरमहलले शुक्रबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंलाई सांसद सुरेन्द्र यादवले दिएको अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरको जाहेरी दर्खास्त पठाएपछि अनुसन्धान सुरु भएको हो ।

समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले दिएको जाहेरी दर्खास्त काठमाडौं प्रहरीलाई पठाइएको सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालले बताए । उनले भने, ‘अनुसन्धानका लागि प्रहरीलाई जाहेरी दरखास्त पठाइसकेका छौं ।’

सरकारी वकिलले जाहेरी पठाएपछि ‘सांसद अपहरण’ प्रकरणमा अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए । उनले भने, ‘प्रारम्भिक रुपमा घटनाको प्रकृति हेर्छौं । र, विस्तृत अनुसन्धान हुन्छ ।’

आवश्यक परे अभियुक्तलाई पक्राउ गर्न सकिने उनको भनाई छ । उनले भने, ‘अनुसन्धान अधिकृतलाई कानुनले केही अधिकार दिएकाले अहिल्यै केही बताउन सकिदैन ।’

अपहरणको जाहेरी दर्ता गर्न सांसद यादवसहित जसपाका नेताहरू महानगरीय प्रहरी परिसर, काठमाडौं गएका थिए । तर, प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि १६ वैशाखमा सरकारी वकिलको कार्यालय पुगेका थिए ।

२०७७ बैशाख २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्