News Portal

कविता : सिस्नो झाङका झुसिलकिरा

-पदम बडाल
१९२ पटक

घाम पर्नु पर्छ,

मौसम सफा हुनु पर्छ
कोही नजिक आउनु पर्छ
त्यो नजिक आउने वस्तु वा हावा जे भए नि हुन्छ
त्यो वस्तु मित्र वा शत्रु जे भए नि हुन्छ
सिस्नो झाङका झुसिलकिरा
बुरुक बुरुक उफ्रिन छोड्दैनन्
माइतिघर मण्डलामा ।

झाङ सिस्नोको घेराबन्दीमा छ
झुसिल किराहरु डेराबन्दीमा छन्
झाङको एक गुत्थो उहिल्यै मित्रले लग्यो
त्यै झाङका मुना टिपेर कहिले अचार बनाउछ ऊ
कहिले साग बनाउछ, कहिले सुठो बनाउछ ऊ
ऊ जति पटक जे जे बनाउछ
सिस्नो झाङका झुसिलकिरा
बुरुक बुरुक उफ्रिन छोड्दैनन्
सामाजिक संजालमा ।

लग्नेले लगि सक्यो
भोग्नेले भोगी सक्यो
जरा एउटै न हो
झाङ एउटै न हो
दुख्न छोड्दैन सपनामा पनि
प्रिय मित्र कि वारपार गर
कि वार बराबर गर
किस्ता किस्तामा तिमीले दिने झल्काहरुले
सिस्नो झाङका झुसिल किराहरु
बुरुक बुरुक उफ्रिन छोड्दैनन्

प्रेश नोट र विज्ञप्तिका प्रतिहरुमा ।
दुस्मन भन्नेहरुले न ताक्न सकेका छन् उसको माथ
मित्र भन्नेहरुले न पाउन सकेका छन् उसको साथ
तर कुर्लन्छन् झुसिल किराका टाउकाहरु यो र त्यो बनेर
ती टाउकाहरु सायद रनभुल्लमा छन्
ती टाउका भित्रका मस्तिष्कहरु सायद दोधारमा छन्
ती टाउका तलतिरका पेटहरु सायद नभरिने त्रासमा छन्
त्यै भएर मित्रले चिथोरे पनि
अस्मिता चुनरिहरु धाजाधाजा बनाए पनि
सिस्नो झाङका झुसिलकिराहरु
बुरुक बुरुक उफ्रिन छोड्दैनन्

माइक राखिएका झुण्डहरुमा ।
कयौ झुसिलकिराहरु पिआर बनाएर पुतली बने
कयौ झुसिलकिराहरु खोल ओढेर प्युपा बने
कयौ झुसिलकिराका सन्तानहरु सेचन मै छ्न् झाङमा
न पुतली बन्न सक्नेहरु
न प्युपा बन्न सक्नेहरु
न सेचन गर्न सक्नेहरु
घुडा अगालेर बसेका छन् सिस्नोका पातहरुमा
काडाको एसिडलाई अमृतपान गर्दै
आफ्नै धाउन्नमा छन् उनीहरु सिस्नोको फेदटुप्पो गर्दै
उनलाई मित्रले गुत्थो लगेकोमा कुनै पश्चाताप छैन
उनीहरुलाई जवान झुसिलकिराहरुको बुर्काई
बादरको पुच्छर जस्तै लाग्छ
तर पनि सिस्नो झाङका झुसिलकिराहरु
बुरुक बुरुक उफ्रिन छोड्दैनन्

हरेक स्वाभिमानी युवाको धड्कनमा ।
पिशाचका मस्तिष्क लिएर सत्तामा रहेकाहरु
स्वार्थका पुलिन्दा बोकेर बानेस्वर पुगेकाहरु
हिजोदेखि सिस्नोका मुना ठुङ्दै ठुङ्दै मोटएकाहरु
एक दिन चराचरमा आधी आउनेछ
उडाउनेछ कथित मित्रका मित्रताहरु
पशाची मस्तिश्कका खप्परहरु
र एकत्रित हुनेछ मेरो सिस्नोको झाङ
र फेरि सिस्नो झाङका झुसिलकिराहरु
बुरुक बुरुक उफ्रिनने छन्
स्वाधीनताको नौलो गित गाउदै
देशका हरेक गल्ली गल्लीमा ।

२०७७ बैशाख २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्