News Portal

जव संसदमा भिम रावलले मन्त्रीको झाँको झारे…

मोटिभेटन्यूज संवाददाता
१७० पटक

काठमाडौं – प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आइतबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र नेकपाका अर्का नेता एवम् सांसद भीम रावल आमनेसामने भए ।

नेपाली भूमि लिपुलेकमा भारतले निर्माण गरेको सडकको विषयमा छलफलका लागि डाकिएको बैठकको सुरुआतमै ज्ञवालीले सरकारको धारणा राखेका थिए।

उनले शनिबार परराष्ट्र मन्त्रालयले भारतीय कदमलाई खेदजनक भनेको विज्ञप्ति पढेर सुनाएका थिए। साथै सुगौली सन्धियता भारतीय पक्षले सीमा सार्ने काम गरेकाले त्यसलाई सच्याउन सरकार तयार रहेको बताएका थिए।

त्यसलगत्तै सभापति पवित्रा निरौला खरेलले सांसदहरूलाई बोल्न समय दिइन्।

उनले प्रतिनिधि सभा बैठक ११ बजेका लागि डाकिएकाले सांसदहरूलाई छोटो धारणा राख्न आग्रह गरिन्। तर समिति सदस्य रहेका रावलले राष्ट्रको गम्भीर विषयमा छोटोमा धारणा राख्न नहुने र एक मिनेट बोलेर टुङ्गिने विषय नभएकाले बैठक निरन्तर सञ्चालन हुनुपर्ने बताए।

सभापति खरेलले १० बजेर २० मिनेटसम्म मात्र बैठक गर्न सकिने बताइन्।

समितिका सबै सांसदले बोल्न समय लिएका थिए। तर सांसदहरूलाई रोक्दै सभापति खरेलले समयको अभाव देखाउँदै मन्त्री ज्ञवालीलाई बोल्न समय दिएको घोषणा गरिन्। अनि अर्को बैठक मन्त्रीसँग समयबारे छलफल गरेर गर्न प्रस्ताव गरिन्।

उनको उक्त प्रस्तावमा सांसद रावलले आपत्ति जनाए। उनले राष्ट्रियताको मामिलामा छलफल हुने विषमया ‘बैठक तय हुनुपर्ने’ बताए।

‘संसदका लागि सार्वभौमसत्ता भन्दा ठूलो विषय के हुन्छ’, रावलले आफ्नै अन्दाज शैलीमा भने, ‘राष्ट्रियताको मामिलाभन्दा ठूलो केही हुन सक्दैन। या त बैठक तय हुनुपर्छ। या त बोल्न पाउनुपर्छ।’

सभापति खरेलले मन्त्रीको समय मिलेपछि बैठक तय गर्ने दोहोर्‍याइन्।

तर सांसद रावलले, ‘मन्त्रीले समय दिनुपर्ने तर्क’ गरे। उनले सार्वभौमसत्ता भन्दा ठूलो विषय के हो भन्दै प्रश्न गरे। ‘बैठककको मिति अहिले नै तय हुनुपर्छ’, रावलले भने।

लगत्तै रावलले परराष्ट्र मन्त्रालयको आलोचना गरे। उनले परराष्ट्र मन्त्रालयले जारी भएको विज्ञप्तिमा कसैको पनि हस्ताक्षर नभएको बताए।

‘हामीले अघिल्लोपटक पनि कुरा उठायौं’, रावलले भने, ‘वेवारिसे वक्तव्य जारी गरियो। हस्ताक्षर छैन।’ उनले सोमबारका लागि बैठक राख्न माग राखे। सभापति खरेलले ‘मन्त्रीले धारणा राख्ने क्रममा बताउने’ उल्लेख गरिन्।

लगत्तै रावलले प्रतिवाद गरे। ‘बैठक तपाईंले तोक्ने हो। मन्त्रीको के काम’, रावलले भने, ‘देशलाई चोट लागेको बेला यहाँ भन्दा महत्वपूर्ण कुरा के हुनसक्छ।

त्यतिञ्जेल चुप लागेका परराष्ट्र मन्त्री ज्ञवालीले पनि जवाफ फर्काए। ‘मन्त्रीको इन्टिग्रिटीमा प्रश्न नगरौ’ ज्ञवालीले भने, ‘मन्त्रीको के काम छ भन्ने, म कुनै व्यक्तिगत काममा लाग्ने होइन।’

त्यतिञ्जेल बैठकमा रावलको पक्षमा माहौल बनिसकेको थियो। नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले पनि बैठक लगातार गर्न माग गरिन्। समाजवादी पार्टीकी सांसद रेनुका गुरूङले बैठक तुरुन्त राख्न माग गरिन्।

सभापति खरेलले सांसदहरुलाई बैठकको मर्यादा राख्न आग्रह गर्दै मन्त्री ज्ञवालीलाई समय दिइन्।

ज्ञवालीले बोल्ने क्रममा रावललाई जवाफ फर्काउँदै परराष्ट्र मन्त्रालयको वक्तव्य जारी गर्ने अन्तर्राष्ट्रिय प्रचलन हेर्न सुझाए।

‘त्यही वक्तव्यलाई आधार मानेर भारतले वक्तव्य निकाल्यो’, ज्ञवालीले भने, ‘हामी त्यसैलाई वेवारिसे भन्छौं।’

उनले परराष्ट्रले जारी गरेको वक्तव्यको राजनैतिक स्वामित्व हुने बताए।

‘यो वक्तव्य प्रवक्ता वा सचिवको होइन। परराष्ट्रको आधिकारिक वक्तव्य हो’, ज्ञवालीले भने।

ज्ञवालीले वक्तव्यजस्तो विषयमा अल्झँदा राष्ट्रिय प्राथमिकताको विषय मोडिने भएकाले ध्यान पुर्‍याउन आग्रह गरे। उनले संसदीय समितिहरूको बैठक जुध्ने गरेको र समय व्यवस्थापन गर्न गाह्रो हुने गरेको बताए। आफूलाई आइतबार मात्रै पनि अन्तर्राष्ट्रिय सम्बन्ध समिति र राज्य व्यवस्था समितिले एकै समयमा निम्त्याएको उल्लेख गरे।

सांसदहरूलाई जवाफ दिएपछि ज्ञवाली बैठकबाट निस्किए। लगत्तै रावलले ‘मन्त्री आए पनि नआए पनि बैठक’ गर्नुपर्ने धारणा राखे। ‘देशमा अतिक्रमणको विषयमा बैठक गरौं। संसदीय समितिले बोलाउँदा मन्त्री नआए त्यसैबारे छलफल गरौंला’, रावलले भने, ‘बैठक बोलाउने विषयमा यति बहस हुनु नपर्ने हो।’

लगत्तै सभापति नरौलाले बैठक सोमबार बिहान साढे ८ बजेका लागि तोकिन्।

२०७७ बैशाख २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्