News Portal

कविता : राहुले डसेको सरकार !

ओम आचार्य
१६१ पटक

 

जव–जव
मेरो देशले
एक–एक कला बृद्धिगरी
आफ्नो अनुहारमा चमक ल्याउँछ

०००

तव–तव
राहुले ग्रस्न थाल्छ
चमको विरोधी हो राहु
उज्यालोको विरोधी हो राहु
पूर्णताको विरोधी हो राहु

राहु छाया हो
यो कसको छाँया हो
यो कसको परकाया प्रबेश हो
र यो राहु
छाँया भएर बसेको छ

०००

देशको अनुहार
जहिल्यै पनि मलिन
दाहासंस्कार गर्न हिडेका
मलामीको अनुहार जस्तो
त्यस्तो अनुहार वोकेर
देश सधै शोकमा
देश सधै भोकमा

०००
हामीमा
हाम्रो शरीरमा हुदै
यो राहु
स्कूल कलेज र हस्पिटलहरुमा किन बस्छ
यो राहु
गाँउ र शहर हुदै राजमार्ग
र राजमार्ग हुदै
दशगजामा किन वस्छ
यो राहु
संसद–संसद हुदै
संसदीय भवनमा
संसदीय भवन हुदै
सरकारसम्म पुगेको छ

०००

देशमा
देशको माटोमा
देशले ओगटेको अन्तरिक्षमा
र त्यो
अन्तरिक्ष भित्रको हावा पानीमासमेत
यो राहु
किन विष भएर आउछ
हामी सोझा छौ
हामी सरल छौ
हामी कंचन छौ
र हामी निस्चल छौ
त्यही भएर ग्रस्छ

०००

टेडो चन्द्रमालार्इ राहुले ग्रसेको देख्नु भएको छ
बाङ्गो चन्द्रमालार्इ राहुले ग्रसेको देख्नु भएको छ
टेडो चन्द्रमासँग राहु पनि डराउछ
बाङ्गो चन्द्रमासँग राहु पनि डराउछ

अव हामी टेडो हुनुपर्छ
अव हामी बाङ्ग हुनुपर्छ

राहु हामीसँग पनि डराउछ

२०७७ बैशाख २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्