News Portal

सिमानामा अलपत्र ५ सय जना नेपाल प्रबेश

मोटिभेटन्यूज संवाददाता
१२२ पटक

बुटवल – भारतका विभिन्न सहरबाट स्वदेश फर्कने क्रममा सीमा क्षेत्रमा अलपत्र परेकामध्ये पाँच सय १० जना नेपालीलाई नेपाल ल्याइएको छ । उनीहरुको उद्धार गरी रुपन्देही ल्याइएको हो ।

भारतको मुम्बई, दिल्ली, हरिद्वार, राजस्थान, कानपुरलगायत ठाउँबाट आएका उनीहरू नौतनवाको क्वारेन्टाइनमा २१ दिनको बसाइँ पूरा गरी नेपाल फर्किएका हुन् । उनीहरुलाई बुधबार साँझ बेलहिया नाकाबाट बसमार्फत रुपन्देही ल्याइएको हो ।

रुपन्देहीको तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाको पहलमा स्वदेश ल्याइएका उनीहरूमध्ये दुई सय ३३ जना तिलोत्तमा नगरपालिका–१५ को मधवलिया माविको क्वारेन्टाइनमा र दुई सय ७७ जना सिद्धार्थनगर नगरपालिकाको भैरहवास्थित लिलाराम न्यौपाने मावि र भैरहवा माविको क्वारेन्टाइनमा बस्ने छन् ।

नौतनवामा अझै १५ सय जनाभन्दा बढी नेपाली रहेका र तीमध्ये २१ दिन क्वारेन्टाइन बसाइँ पूरा गरेका नौ सय ६९ जनालाई भोलि (बिहीबार) रुपन्देही भित्र्याइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । क्वारेन्टाइनमा नबसेकाको हकमा के गर्ने भन्ने अझै यकिन नभएको उनले बताए ।

क्वारेन्टाइन बसाइँ पूरा गर्दा पनि स्वदेश आउन नपाएपछि नेपालीहरूले दशगजा क्षेत्रमै भोक हड्ताल थालेका थिए । ‘यो काम जिल्ला प्रशासनले भन्दा पनि तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाको पहलमा भएको हो’–प्रमुख जिल्ला अधिकारी पन्थले भने–‘नेपाल सरकारको निर्देशनअनुसार भित्र्याइएको होइन ।’ क्वारेन्टाइनमा बस्ने सबैको पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आउनेलाई घर जान दिइने र पोजेटिभ आउनेलाई आइसोलेसन अस्पतालमा भर्ना गरिने प्रमुख जिल्ला अधिकारी पन्थले स्पष्ट पारे ।

२०७७ बैशाख ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्